भगवान भरोसामा स्थानीय सरकार

२१ चैत्र २०७४, बुधबार ११:०५

पवित्रकुमार शाही – कालिकाेट- जिल्लाका ९ वटा स्थानीय तह भगवान भरोसामा संचालन भएका छन् । ५० जना कर्मचारीले गर्ने काम दुइ जनाले गर्नुपर्ने बाध्यता छ । स्थानीय तहमा कार्यरत कर्मचारीलाई काम सम्पादन गर्न निकै झमेला भएको छ । कर्मचारी अभावमा तड्पीएका स्थानीय तह अस्तव्यस्त अवस्थामा छन् । नगरपालिका र गाउँपालिकामा कार्यरत कर्मचारीले भगवानलाई पुकार गरिरहेका छन् । ‘५० जना कर्मचारीले गर्ने काम दुई जनाले गरिरहेका छौं । भगवान भरोसामा चलेको छ नगरपालिका । विहान १० देखि ५ बजेसम्म कार्यालय समय हो । तर, रातदिन काम गर्नुपर्ने बाध्यता आएको छ ।’ रास्कोट नगरपालिका लेखापाल ज्ञानबहादुर ओलीले भने, ‘खाना र नास्ता खाने समय पनि मिल्दैन ।’ रास्कोट नगरपालिकाम कर्मचारी चरम अभाव भएको त एक प्रतिनिधि मुलक उदाहरण मात्र हो । यस्तै जिल्लाका ३ वटा नगरपालिका र ६ वटा गाउँपालिका भगवान भरोसामा चलेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक नगरापालिकामा कम्पतीमा पनि ५० जना कर्मचारीको स्थायी दरबन्दी हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै एक गाउँपालिकामा २५ हजारभन्दा माथि जनसंख्या भएमा वडामा २ जना र गाउँपालिका कार्यालयमा २५ जना कर्मचारी दरबन्दीको व्यवस्था गरेको छ । तर, स्थानीय तहको निर्वाचन भएको एक वर्ष वित्नै लाग्दा पनि आवश्यकता अनुसारको कर्मचारी कठाउन सरकारले सकेको छैन् ।

हाल नगरपालिकाममा दुई जना र गाउँपालिकामा पनि दुई जना कर्मचारी रहेका छन् । जिल्लाको सदरमुकाम मान्ममा रहेको खाँडाचक्र नगरपालिकामा ६ जना स्थायी कर्मचारी छन् । ‘नगरमा ५० जना कर्मचारीको दरबन्दी छ । तर, ६ जना कर्मचारीले मात्र काम गरिरहेका छौं ।’ नगरापालिका प्रमुख प्रशासकीय अधिकृत कासीप्रसाद पंगेनीले भने, ‘६ जना कर्मचारी मध्ये पनि दुई जना प्राविधिक तर्फ छन् । एक जना खरिदार प्रशासन कार्यालयबाट काजमा बोलाएका छौ ।’ कर्मचारी अभावसंगै अस्तव्यस्त संरचना हुँदा स्थानीय सरकार अन्यौलमा छ । एक–दुइ जना कर्मचारीको भरमा नगरपालिका र गाउँपालिका संचालनमा छन् ।

नगरापालिका र गाउँपालिका कार्यालयको कर्मचारीलाई असार मसान्त जस्तै काम भ्याइ —नभ्याइ छ । ११ वटा वडा भएको खाँडाचक्र नगरपालिकामा २२ जना कर्मचारीको दरबन्दी छ । तर, ११ वटै वडामा एक जना पनि कर्मचारी छैनन् । नगरपालिकाको कार्यालयमा २५ जना कर्मचारीको दरबन्दी भए पनि कर्मचारी अभाव रहको मयेर जसीप्रसाद पाण्डेले बताए ।
‘जिल्ला प्रशासन कार्यालयबाट एक जना खरिदार बोलाएर काम गरेका छौ ।’ मेयर पाण्डेले भने, ‘जिल्ला समन्वय समितीले भएका कर्मचारीलाई सरुवाको सिफारिस दिएकोले यस्तो समस्या भएको हो ।’ वैकल्पीक व्यवस्था नगरेरै धमाधम कर्मचारी सरुवा भएपछि नगरपालिकाको कर्मचारीको अभाव भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफ्नो नाममा पेश्की निकालेर वडाध्यक्षलाई गाउँमा वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत कासीप्रसाद पंगेनीले सुनाए ।

नगद दिन नमिल्ले नियम हुँदा पनि बाध्यताले जोखिम मलेर वडाध्यक्षलाई नगद वितरण गर्न दिनु परेको उनले बताए ।
स्थानीय चुनाव सकिए लगतै कर्मचारीले धमाधम सरुवा मागेर जिल्ला बाहिर गएपछि जिल्लाका सबै जसो स्थानीय तहमा कर्मचरी छैनन् । सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिकामा त यस्तो हालत छ भने, विकट दुरदराजका गाउँपालिकामा अझै कर्मचारीको संकट भएको छ । पलाँता गाउँपालिकामा एक जना कार्यरी अधिकृत र एक जना वडा सचिव, एक लेखापाल बाहेकका कर्मचारी छैनन् । ८ वटा वडा भएको गाउँपालिकामा भौगोलिक विकतासंगै कर्मचारीको निकै अभाव छ । गाउँपालिका कार्यकारी अधिकृत लेखबहादुर क्षेत्रीले भने, ‘कर्मचारी नभएर निकै समस्या भएको छ । कर्मचारी नभएर सानो ठुलो काम गर्न आफुलाई हम्मे—हम्मे भएको छ ।’

 खरिदारको भरमा गाउँपालिका

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ कर्मचारी स्थानीय तहमा खटाउने तयारी गरे पनि जिल्लामा पुगेका छैनन् । सरकारले स्थानीय तह सञ्चालनका लागि कर्मचारीको दरबन्दी स्वीकृत गरेपछि मन्त्रालयले कर्मचारी खटाउने तयारी गरेको थियो । मन्त्रालयले स्वीकृत गरेको दरबन्दीअनुसार महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका कार्यालय तथा वडा कार्यालयमा कर्मचारी खटाउने निर्णय गरेको थियो ।

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमा महानगरपालिकामा सचिव, उपमहानगरमा सहसचिव, नगरपालिका तथा गाउँपालिकामा उपसचिव रहने व्यवस्था गरेको छ । यसअघि महानगरमा सहसचिव, उपमहानगर र नगरमा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था गरेको थियो । तर, जिल्लामा कतिपय स्थानीय तहमा खरिदार नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिरहेका छन् ।

२५ हजारभन्दा बढी जनसंख्या भएका गाउँपालिकामा उपसचिवको नेतृत्वमा २५ कर्मचारी रहने सरकाले व्यवस्था गरेको छ । २५ हजारसम्म जनसंख्या भएको नगरपालिकामा पनि उपसचिवको नेतृत्वमा २५ कर्मचारी हुनेछन् भने हरेक वडामा दुई जना कर्मचारी हुनेछन् । यसैगरी सरकारले स्वीकृत गरेको दरबन्दीअनुसार कर्मचारी चाँडै नै खटाउने मन्त्रालयको तयारी रहेको छ । अहिले स्थानीय तहमा खटाएका कर्मचारी नै नगएको अवस्थामा पुन मन्त्रालयले नयाँ दरबन्दी अनुसार कर्मचारी खटाउने तयारी गरेको मन्त्रालयले सार्वजनिक गरेको छ ।

Next Post

कर्णालीका लागि ऐतिहासिक दिन बनोस् बैशाख १

२१ चैत्र २०७४, बुधबार ११:०५
चित्रसिंह गाउँले – आगामी बैशाख १ गतेका दिन सम्माननीय प्रधानमन्त्री केपी ओलीबाट रारा महोत्सव उद्घाटन तथा राराकै काखबाट राष्ट्रका नाममा सम्बोधन हुँदैछ । कर्णाली प्रदेश सरकारले प्रदेश मन्त्री परिषद् वैठकपनि रारामै राख्दै छ । बैशाख १ गतेकै दिन कालिकोट मा रहेको एसियाकै अग्लो दाबी गरिएको पचालझरना मा पचालझरना महोत्सवपनि तयारी […]