मानव जातीको भविष्य समाजवादमा मात्रै छ : प्रचण्ड

९ श्रावण २०७६, बिहीबार १३:५५

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मानव जातीको भविष्य समाजवादमा मात्रै भएको बताएका छन् । केही मान्छेहरु मात्रै धनी हुने र बहुसंख्यक गरिब हुने राजनीतिक प्रणालीले मानव जातीको कल्याण गर्नै नसक्ने उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रचण्डले सो धारणा राखेका हुन् ।

उनले भने, ‘अहिले पनि संसारमा धनी र गरिबीचको खाडल झन् फराकिलो भएको छ । गरिबीको दुष्चक्रमा अरबौं मानिसहरुले अहिले पनि पिल्सिएकै छन् । यो परिस्थितिमा मानव जातीको भविष्य समाजवादमा मात्रै छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपालमा समाजवादको नयाँ मोडेल विकास गरेर विश्वलाई देखाउनुपर्ने अवसर र चुनौती दुवै रहेको बताए । ‘ठूलो अवसर पनि छ, चुनौती पनि हो । योभन्दा अझ ठूलो उचाइमा जानु छ । नेपालबाट समाजवादको नयाँ मोडल विश्वलाई दिनुपर्दछ । समाजवादको नयाँ धारा, नयाँ सिस्टम हामीले दुनियाँलाई दिन सक्नुपर्छ,’ उनले भने ।

यस्तो अवसर विरलै आउने भन्दै प्रचण्डले त्यसका लागि पार्टी एकता सुदृढ र सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने, ‘सामाजिक न्यायसहितको समृद्धिको नयाँ मोडेल नेपालबाट दिन सक्नुपर्दछ । त्यो अवसर हामीलाई छ । यो अवसर पार्टी एकतालाई सुदृढ बनाएर, सरकारको कामलाई प्रभावकारी बनाएर, गुणात्मक ढंगले जनताको मन जितेर मात्रै पूरा गर्न सकिन्छ ।’

प्रचण्डले अब भदौ महिनाबाट पार्टीका नीति र सरकारका कार्यक्रमबारे जनतालाई जानकारी दिन देशव्यापी अभियान चलाउने पनि बताए ।

 

Next Post

नेपालले चीनका १५ वटा विमानस्थल प्रयोग गर्न पाउने, हप्तामा ९८ उडान

९ श्रावण २०७६, बिहीबार १३:५५
काठमाडौं– नेपाल र चीनबीच शुक्रबार बेइजिङमा नयाँ हवाई सम्झौता भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डलले चीनमा नेपाली जहाजले हवाई उडानको सुविधा पाउने गरी नयाँ सम्झौता गरेको हो। सम्झौताअनुसार नेपालले चीनका १५ वटा विमानस्थल प्रयोग गर्न पाउने छ भने हप्तामा ९८ उडान […]