सरकारले सार्वजनिक जग्गा अतिक्रमण हुन दिँदैनः उपप्रधानमन्त्री पोखरेल

४ श्रावण २०७६, शनिबार १३:२८

काठमाडौं–उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई पनि आग्रह गरे ।

सार्वजनिक जग्गा जनताको सम्पत्ति भएकाले त्यसको अतिक्रमण भए सरकारलाई सैह्य नहुने उनको चेतावनी छ । शनिबार काठमाडौं क्षेत्र नम्बर ५ मा पुनर्निर्माण गरिएको पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण जतिसुकै सम्मानित ठाउँबाट भएपनि त्यसलाई सरकारले कार्वाही गरेरै छाडने चेतावनी दिए ।
त्यस अवसरमा उनले स्थानीय तहमा हुने विकास, निर्माणको बजेटको व्यवस्था गर्ने दायित्व स्थानीय तहकै भएको पनि स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडाहरुसँग आवश्यक सहकार्य गरेर काठमाडौं महानगरपालिकाले विकास निर्माणको कामलाई तीव्रता दिएको दावी गरे ।

उनले काठमाडौंलाई हिलो र धुलोमुक्त बनाएको दावी गर्दै चालू आर्थिक वर्ष भित्र नवर्निर्माण र पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रदेश सांसद नारायण सिलवालले काठमाडौं क्षेत्र नम्बर ५ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास हुने गरी स्थानीय सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रदेश ३ को सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सो पुल वरपरका सम्पदाहरुको पुनर्निर्माण गरी त्यसलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रदेश सांसद सिलवालको योजना छ ।

Next Post

नेकपामा जिल्ला नेतृत्व: तत्कालीन एमालेलाई ४५, माओवादीलाई ३८, कुन जिल्लामा को परे

४ श्रावण २०७६, शनिबार १३:२८
काठमाडौँ– सत्तारुढ नेकपाले जिल्लाका इन्चार्ज, सहइन्चार्जको टुंगो लगाएको छ । आइतबार दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाका इन्चार्ज, सहइन्चार्जको टुंगो लगाएको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइएको हो […]