बझाङ – नेकपा विप्लव समूहको अपहरणमा परेकी बझाङ प्रदेशसभा सांसद देवकी मल्ल अपहरणमुक्त भएकी छन्। बुंगोल नगरपालिकाबाट कार्यक्रम सकेर बित्थरचिर गाउँपालिकामा उनलाई प्रमुख अथिति बनाएर गाउँपालिकाले नारी दिवसको अवसर पारेर कार्यक्रम गर्न लागेको थियो। सोही क्रममा उनी त्यसतर्फ जाँदै गर्दा केदारच्यु गाउँपालिका ५ बगडीबाट शुक्रबार बिहान ९ बजे अपहरणमा परेकी थिइन्। उनी शुक्रबार अपराह्न अहिले ४ बजे अर्थात् ७ घण्टापछि अपहरणमुक्त भएकी हुन्।
मल्ल अपहरणमा परेको भन्ने आफन्त तथा स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। एकैछिन त हो नि जाउँ भन्दै विप्लवका कार्यकर्ताले निकै माथि लगेको र आफूलाई फर्कन नदिएको अपहरणमुक्त भएपछि मल्लले बताइन्।
उनले बताएअनुसार उनलाई बगडको माथि लेकमा रहेको जंगलमा लगिएको थियो। उनको अपहरणको आधिकारिक जिम्मा विप्लव समूहले नलिए पनि अपहरणमुक्त सांसद मल्लले बताएअनुसार सरकारको काम र गतिविधि चित्त नबुझेका कारण अपहरण गरिएको हो।
विप्लव समूहले तीन साताअघि आफ्नो पार्टीको महिला संगठनको भेला गर्न नदिएको, पार्टी महिला विभाग प्रमुख बन्धु चन्दलाई प्रहरीले पक्राउ गरेको, निर्मला हत्याकाण्ड अनुसन्धानमा सरकारले पहल नगरेको लगायत आक्रोशमा आफूलाई पक्राउ गरिएको सांसद मल्लले बताइन्। अपहरणमुक्त भएकी सांसदको अवस्था समान्य छ।