डाभोसमा प्रधानमन्त्रीको सहभागिता, नेपालको सफलताप्रति विश्वको चासो

५ माघ २०७५, शनिबार ०८:५३

काठमाडौँ – स्विटजरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको वार्षिक बैठकबाट नेपालले ठूलो लाभ लिनसक्ने विश्वास गरिएको छ । यही माघ ८ देखि ११ गतेसम्म हुने सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिने कार्यक्रम छ ।

सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालले पहिलो पटक प्रधानमन्त्री स्तरमा भाग लिन थालेका हुन् । यसले विश्व आर्थिक परिदृश्यमा नेपाल पनि पर्न थालेको अनुभव गरिएको छ ।

प्रधानमन्त्री ओलीले सो बैठकका दुई वटा सत्रलाई सम्बोधन गर्नेछन् । डाभोस स्विटजरल्याण्डको सूदूरपूर्वी ग्राउबुन्डेन क्यान्टनमा पर्ने एक सानो हिमाली शहर हो । ल्याण्डवासर नदीको किनारामा रहेको यो शहरको जनसङ्ख्या करीब ११ हजार मात्र छ ।

सो बैठकमा भाग लिन आएको निमन्त्रणा र भ्रमणबाट नेपाललाई हुने उपलब्धिबारे प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्दै भनेका छन्, ‘हामीले पाएको सफलताले नेपालप्रति विश्वको चासो बढेको छ, अब नेपाल सानो र पछौटे मुलुकका रुपमा नभई विश्व मानचित्रमा सम्झिनलायक मुलुकका रुपमा स्थापित भएको छ ।’

विश्व आर्थिक मञ्चको सो ४९ औँ बैठकमा भाग लिन प्रधानमन्त्री ओली आइतबार स्विटजरल्याण्डतर्फ प्रस्थान गर्नेछन् । सातदिने सो भ्रमणमा मञ्चको बैठकको साइडलाइनमा विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग महत्वपूर्ण भेटघाट हुनसक्ने पनि प्रधानमन्त्रीले बताए ।

डाभोस फोरम आर्थिक विषयवस्तुमा बहस, मन्थन गर्ने महत्वपूर्ण संस्था भएकाले हाम्रा विकासका अनुभव र आकाङ्क्षाबारे सुनाउन पनि सो मञ्च उपयुक्त हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

नेपालमा आगामी मार्चमा हुन लागेको लगानी सम्मेलनलाई सार्थक पार्न तथा लगानी भित्र्याउन पनि यो मञ्च सहायकसिद्घ हुने विश्वासको उनको छ । परराष्ट्रमन्त्री ज्ञवालीले लगानी सम्मेलनमा बृहत् सहभागिता गराउन र विश्वका प्रतिष्ठित कम्पनीलाई आकर्षित गर्न पनि मञ्च उपयोगी हुने बताए ।

बैठकमा नेपाल अब किन लगानीका लागि आकर्षक र सुरक्षित छ, कसरी यहाँ लगानी गर्दा नोक्सानी हुँदैन भन्ने र हामी कसरी दुई ठूला बजार चीन र भारतसँग जोडिएका छौँ र ती दुई बजारमा हामी पुग्न सक्छौँ भनेर विश्वलाई बुझाउन पनि बैठक अत्यन्त उपयोगी सिद्ध हुने उनको विश्वास छ ।

मन्त्रालयको युरोप, अमेरिका महाशाखाका सहसचिव घनश्याम भण्डारीले विश्वका राजनेता तथा आर्थिक सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल हुँदा नेपालले आफ्ना कुरा राख्न र अरूका अनुभवबाट पनि लाभ लिनसक्ने बताए ।

डाभोस बैठकमा विश्वका सय देशबाट राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा प्रतिनिधिले भाग लिनेछन् भने यसमा विश्वका एक हजार वटा प्रतिष्ठित कम्पनीका प्रमुखहरुले पनि भाग लिनेछन् । राताेपाटीबाट

Next Post

कालिकोटमा समुदाय–प्रहरी साझेदारी अभियान प्रभावकारी

५ माघ २०७५, शनिबार ०८:५३
कालिकोट – जिल्ला प्रहरी कार्यालय कालिकोटले कारागारका कैदीलाई पुस्तक हस्तान्त्रण गरेको छ । समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत प्रहरीले पुस्तक हस्तान्त्रण गरेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरु गरेको समुदाय–प्रहरी साझेदारी अभियान लाई थप प्रभाकारी बनाउन कारागारलाई विभिन्न ज्ञानमुलक पुस्तक हस्तान्त्रण गरिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव […]