कालिकोट-जिल्लाको खाँडाचक्र नगरपालिकाले गत आर्थिक बर्ष र चालु अावकाे पहिलाे चाैमासिक प्रगति विवरण सार्वजनिक गरेकाे छ । कृषि,पशु, स्वास्थ्य,शिक्षा र वनलगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको हो । आर्थिक वर्ष २०७४÷०७५ मा ३६ करोड ४९ लाख बजेट नगरपालिकाले विनियोजन गरेको थियो । जसमा ३४ करोड १९ लाख बजेट यथार्थ खर्च भएको छ । उक्त बजेट मध्ये १ करोड ६२ लाख फ्रिज भएको छ । नगरपालिकाले विहिवार सार्वजनिक सुनुवाइ गर्दै गत आर्थिक बर्षमा भएका विकासका गतिविधि सार्वजनिक गरेको छ ।
प्रगति विवरणमा ९३.७० प्रतिशत वित्तिय प्रगति देखाइएको छ । पहिलो आर्थिक वर्ष सकिएर पनि अर्काे नयाँ चालु आर्थिक बर्षमा समिक्षा गरिएको छ । गत आर्थिक वर्षमा वर्ष भरी गरिएका गतिविधि र चालु आर्थिक वर्षको पहिलो चौमासिक प्रगतिको सार्वजनिक सुनुवाइ गरिएको छ । गत वर्षको क्रमागत योजनको ४२ लाख ७५ हजार भुक्तानी दिन बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा कर तथा कोष खातामा बाँकी रहेको २५ लाख दाखिला गरिएको उल्लेख छ ।
कार्यक्रममा सहभागीले अधिकांस बजेट सानातिना योजनामा खर्च भएको बताएका थिए । पहिलो आर्थिक बर्षमा योजना वितरण र विनियोजमा समस्या आएको नगर प्रमुख जसीप्रसाद पाण्डेले बताए । उनले भने, ‘गत आर्थिक वर्ष सिकाइ भएको छ । चालु आर्थिक वर्षमा काम देखिने र आवश्यकता अनुसारका योजना निर्माण गरेर बजेट विनियोजन गरिएको छ ।
गत वर्ष सवै वडामा आवश्यकता देखिएकाले साना योजनामा सानो बजेट खर्च भएको हो ।’ वर्षमा सडक, भवन, फिल्ड, सिचाइ, खानेपानी तथा कृषिलाई पहिलो प्राथामिकतामा बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत कासीप्रसाद पंगेनीले बताए ।
चालु आर्थिक वर्षको ४२ करोड २८ लाख
चालु आर्थिक वर्षमा ४२ करोड २८ लाख ८५ हजार बजेट विनियोजन गरिएको सार्वजनिक गरिएको छ । जस अन्तर्गत चालुतर्फ ५ करोड ७६ लाख र पुँजीगतखर्च तर्फ ३१ करोड ६९ लाख ३८ हजार गरी जम्मा ३७ करोड ४५ लाख ३८ हजार नगरकार्यपालिका तथा विषयगत शाखामा विनियोजन गरिएको छ । त्यस्तै वडा समितिका लागि चालुतर्फ ७४ लाख ४७ हजार र पुँजीगत तर्फ ४ करोड ९ लाख गरी जम्ममा ४ करोड ८३ लाख ४७ हजार बजेट रहेको छ ।