काठमाडौं–भूकम्प गएको झण्डै साढे ३ वर्षपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एकीकृत बस्ती पुनर्निर्माणको योजना अघि बढाएको छ । प्राधिकरणले अतिप्रभावित गोरखा, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा २९ वटा एकीककृत बस्ती निर्माणको कार्ययोजना स्वीकृत गरेको हो । एकीकृत बस्तीका लागि कम्तीमा १० घर वा सो भन्दा बढी भएमा एकीकृत बस्ती विकास योजना स्वीकृत गर्न सक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।
एकीकृत बस्तीका लागि भूकम्प प्रभावितले एकै स्थानमा जग्गा खरिद गर्नुपर्ने प्रावधान राखिएको छ । प्राधिकरणले एकीकृत बस्ती निर्माणका लागि हिमाली क्षेत्रमा प्रतिघर ५ लाख, पहाडी क्षेत्रमा ४ लाख र तराईमा ३ लाख अनुदान दिने व्यवस्था गरेको छ । यसका लागि स्थानीय तहलाई परिचालन गर्ने योजना रहेको उनले बताए ।
एकीकृत बस्तीका लागि अहिलेसम्म १० घर देखि १ सय ७० घरसम्मको प्रस्ताव आएको छ ।
ज्ञवालीले भने–‘घरको मोडेल स्थानीय संस्कृति अनुसारको बनोस् भन्ने हाम्रो चाहना हुन्छ । व्यक्तिलाई प्रेसर गरेर यही नै घर बनऔं त भन्न सक्दैनौँ । सम्भव भएसम्म स्थानीय शैली नै बनोस् भन्ने हाम्रो प्राथमिकता हुन्छ । विषेश गरेर हामी बाटो, खानेपानी, विद्युत पूर्वाधारका लागि प्राधिकरणबाट सहयोग हुन्छ ।’
प्राधिकरणले आफैँले घरको नक्सा बनाउने, आफैँ खटेर काम गर्ने भन्दा पनि प्रत्येक परिवारलाई अनुदान दिने व्यवस्था गरेको छ ।
यसका लागि स्थानीय तहलाई एकमुष्ट रकम दिने र सम्बन्धित स्थानीय तहले रकम परिचालन गर्ने प्राधिकरणले ब्यवस्था मिलाएको छ ।
एकीकृत बस्तीका लागि प्रस्ताव आएमा त्यसबारे अध्ययन गरेर निर्णय गर्दै जाने प्राधिकरणले जनाएको छ ।
साढे ५ लाख घर निर्माणाधिन
पुनर्निर्माण अन्र्तगत व्यक्तिका निजी आवास निर्माण अन्तर्गत ३ लाख ९ हजार ८ सय ८० घर निर्माण सम्पन्न भएको जनाएको छ । यस्तै ५ लाख ५८ हजार ६ सय घर निर्माणाधिन अवस्थामा रहेको छ ।
प्राधिकरणले ७ लाख २२ हजार ४ सय ८३ पहिलो किस्ता वितरण गरेकोमा ५ लाख ११ हजार ४ सय ८६ घरका लागि दोश्रो किस्ता वितरण गरेको छ । यस्तै २ लाख ८८ हजार ८ सय ८० घरका लागि तेश्रो किस्ता वितरण भएको प्राधिकरणले जनाएको छ ।
यसैबीच ११ सय ९७ स्वास्थ्यसंस्था पुनर्निर्माण गर्ने लक्ष्य लिइएकोमा ६ सय ४३ संस्था पुनर्निर्माण भएको छ ।
शैक्षिक संस्थातर्फ ७ हजार ५ सय ५३ पुनर्निर्माण लक्ष्य लिइएकोमा २ हजार ३ सय ६९ निर्माण हुँदै तथा ३ हजार ८ सय १६ पुननिर्माण सम्पन्न भइसेको छ ।
सरकारी भवन तर्फ ४ सय १५ भवन पुननिर्माण गर्ने लक्ष्य लिइएकोमा १ सय ४५ निर्माण हुँदै गरेको छ भने २ सय ४८ भवन निर्माण सम्पन्न भएको छ ।
सांस्कृतिक सम्पदातर्फ ७ सय ५३ निर्माण गर्ने लक्ष्य लिइएकोमा ३ सय ९ को पुनर्निर्माणको क्रममा रहेको छ भने १ सय ८५ सम्पदा निर्माण भइसकेको छ ।
सुरक्षा निकायतर्फ ३ सय ८३ भवन निर्माण गर्ने लक्ष्य रहेकोमा १ सय १२ को निर्माण भइरहेको छ भने ९३ भवन निर्माण भइसकेको छ ।
यता खानेपानी पूर्वाधारतर्फ ३ हजार २ सय १२ निर्माण गर्ने लक्ष्य लिइएकोमा ६ सय ७० निर्माणको चरणमा रहेको छ भने ७ सय ९१ पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।