काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले यही माघ १५ गतेभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा भएको ऊर्जा सम्मेलनमा सहभागी भई मंगलबार स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । निर्वाचन आयोगसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गरिने उनले उल्लेख गरे ।
उनले सरकार निर्वाचन गराउन प्रतिबद्ध रहेको दोहोर्याउँदै त्यसका लागि राजनीतिक सहमति जुटाउन आफू लागिपरेको सुनाए । उनले निर्वाचनसँग सम्बन्धित विधेयक व्यवस्थापिका–संसद्मा पेस भइसकेकाले चाँडै पारित हुने बताए । उनले आफ्नो यूएई भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन सफल भएको दाबी पनि गरे । उनले सोमबार ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न सहभागीलाई आग्रह गरेका थिए ।
ऊर्जा सम्मेलनमा सहभागी मुलुकका प्रतिनिधिले नेपालमा लगानी गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए । उनले यूएईमा रहेका नेपालीलाई सम्बोधन गरेका थिए ।
आफ्नो यूएई भ्रमणलाई लिएर नकारात्मक टीकाटिप्पणी भएको भन्दै उनले असन्तुष्टिसमेत जनाएका थिए ।
उनले यूएई बसाइका क्रममा आफ्ना समकक्षी सेख मोहम्मद बिन रसिद अल माक्तुमसँग भेट गरी नेपाली कामदारको समस्या समाधानका लागि आग्रह गरेका थिए । मृत्युदण्डको सजाय तोकी दुबईको केन्द्रीय कारागारमा रहेका नेपाली नागरिक अमरबहादुर बमलाई रिहा गर्न पनि आफूले आग्रह गरेको उनको भनाइ थियो । उनी यही माघ १ गते यूएई भ्रमणमा निस्किएका थिए ।
स्थानीय निर्वाचन ‘जेठमा मात्र सम्भव’
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी चैतमा निर्वाचन हुने सम्भावना टरेको बताएका छन् । राजधानीमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले अब जेठ पहिलो साता मात्र निर्वाचन गर्न सकिने बताए । यही माघ १५ गतेभित्रै निर्वाचनसँग सम्बन्धित ऐन÷कानुन तयार भए जेठको पहिलो साता स्थानीय निर्वाचन गर्न सकिने उनले स्पष्ट पारे ।
“अब चैतमा निर्वाचन हुन सक्दैन । वैशाख २८–२९ गते निर्वाचन सुरु गर्ने हो भने जेठको पहिलो सातासम्म सम्पन्न गर्न सकिन्छ”, उनले भने । स्थानीय निर्वाचन दुई–तीन चरणमा गर्नुपर्ने उल्लेख गर्दै उनले आयोगले अहिले पुरानै ऐन तथा कानुनका आधारमा काम गरिरहेको खुलाए । उनले राजनीतिक दलहरूमा इच्छाशक्ति भए ०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचनको सम्भावना अझै रहेको पनि बताए ।
अघिल्लो सरकारले मंसिरमै स्थानीय निर्वाचन गर्ने घोषणा गरेको थियो । पुष्पकमल दाहाल प्रधानमन्त्री भएलगत्तै स्थानीय निर्वाचन चैतमा गर्ने भनिए पनि मिति घोषणा गरिएको थिएन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लगायत दलले छिटोभन्दा छिटो निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आएका छन् । कारेबारबाट