बल्खु तरकारी बजारमा बिहानै सरकारको छापा, व्यापारी पक्राउ

११ भाद्र २०७५, सोमबार १०:३०

काठमाडौँ–सरकारी टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारमा छापा मारेर एकजना व्यापारीलाई पक्राउ गरेको हो । विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीलाई व्यापारीहरुले अवरोध गरेपछि झडपको अवस्था उत्पन्न भएको थियो ।

व्यापारीहरुले सरकारी टोलीमाथि अभद्र व्यवहार र हुलहुज्जसमेत गरेपछि त्यहाँका व्यापारी रवि साहलाई पक्राउ गरिएको आपूर्ति मन्त्री मातृका प्रसाद यादवका जनसम्पर्क अधिकृत यज्ञराज पोखरेलले जानकारी दिएका छन् ।

यसअघि २०७३ असारमा अनुगमनमा पुगेका तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनसहितको टोलीमाथि त्यही बजारमा व्यापारी साहसहितले बन्दगोभी लगायत तरकारीले हानेका थिए ।

अनुगमन गर्न पुगेको टोलीले प्रमाणित नगरेका ढक र तराजुहरु उठाएपछि तरकारी व्यापारीहरुले आक्रमण गरेका थिए । त्यो बेला पनि व्यापारी साहसहितले अनुगमन टोलीमाथि इट्टा, लौका, मुला र पानीको बोत्तलले आक्रमण गरेका थिए ।

साहलाई पक्राउ गरेपछि व्यापारीहरुले बजार भित्र र बल्खु चोकमा निस्केर बिरोध प्रदर्शन गरेका छन् । सरकारी टोलीको अनुगमनका क्रममा बल्खु तरकारी बजार क्षेत्रका कुनै पनि व्यापारीले व्यवसाय दर्ता नगरेको भेटिएको छ । व्यापारीहरुसँग पान नम्बर समेत नरहेको अनुगमन टोलीले जनाएको छ ।

त्यहाँका अधिकांश व्यापारीले बाहिरबाट कृषकसँग तरकारी किनेर ल्याउँदा कुनै प्रकारको बिलसमेत नराखेको भेटिएको छ । अनुगमन टोलीले बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतलाई विभागमा आजै आएर स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

बल्खु तरकारी बजार कम्पनी ऐन अन्तरर्गत खोलिए पनि त्यहाँको अधिकांश कारोबार अवैध पाइएको हो । यसअघि सरकारले कालिमाटी तरकारी बजारमा हस्तक्षेप गरेर त्यहाँ बिचौलियाले चलाएका ९८ वटा स्टल खारेज गर्ने निर्णय गरेको थियो । 

Next Post

बिमस्टेकका भीभीआईपीलाई विशेषज्ञसहितको स्वास्थ्य सेवा, यी अस्पतालमा आकस्मिक उपचारको व्यवस्था

११ भाद्र २०७५, सोमबार १०:३०
काठमाडौँ – बिहिबार र शुक्रबार हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी विशिष्ट पाहुनालाई सरकारले विशेषज्ञ सहितको स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । जसको लागि केही दिन पहिले स्वास्थ्य मन्त्रालयकी सचिव पुष्पा चौधरीको संयोजकत्वमा  १० सदस्सीय समिति गठन गरिएको थियो । सो समितिले […]