आज पनि हुन सकेन प्रधानन्यायाधीशको अनुमोदन, १६ गतेसम्मका लागि बैठक स्थगित

१४ श्रावण २०७५, सोमबार २०:१५

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको प्रधानन्यायाधीशमा गरिएको सिफारिश आज पनि अनुमोदन  हुन सकेन ।  आगामी साउन १६ गतेसम्मको लागि  संसदीय विशेष सुनुवाई समितिको बैठक स्थगित भएको छ ।

निर्णयको लागि छलफलको क्रम नसकिएको भन्दै बैठक साउन १६ गतेसम्मको लागि स्थगित गरिएको हो ।  समितिका जेष्ठ सदस्य  लक्ष्मणलाल कर्णले  जोशीबारे सुनुवाई भएपनि छलफलको क्रम नसकिएकाले १६ गतेसम्मको लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको भन्दै समितिका सदस्यहरु असन्तुष्ट छन् ।

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । तर, उनी  विवादमा  तानिएकाले प्रधानन्यायाधीश बनाउने या नबनाउने भन्नेमा अन्योलता उत्पन्न भएको छ ।

यही कारण समितिको  बैठक आइतबार पनि स्थगित भएको थियो ।

संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।

Next Post

नेपाली कांग्रेस सरकारविरुद्ध देशभर प्रदर्शनमा उत्रियाे

१४ श्रावण २०७५, सोमबार २०:१५
कालिकाेट– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार सरकारविरुद्ध देश भर प्रदर्शन गर्ने क्रममा कालिकोटमा पनि प्रर्दशन गरेको छ । नेकपा नेतृत्वको सरकारले अधिनायकताको बाटोमा अग्रसर भएको भन्दै कांग्रेसले कालिकोटमा विरोध प्रदर्शन गरेको कांग्रेस जिल्ला सहसचिव दमन शाहीले जानकारी दिए । उनले सरकार लोकतान्त्रिक मूल्य मान्यता विपरित हिंडेकाले त्यसको रक्षा गर्न […]