कालिकोट-प्रदेश नम्वर ६ को राजधानी सुर्खेत र जुम्ला हुनु पर्नेमा यहाँका नागरिकले धारणा राखेका छन् । हिउँदे मौसममा जुम्ला र बर्खाको सिजनमा सुर्खेत राजधानी हुनुपर्नेमा जोड दिएका हुन् । मंगलबार सदरमुकाम मान्ममा आयोजित सम्मुनत समाजका लागि सामुहिक प्रयास नामक संजालले प्रदेश राजधानीका विषयमा छलफल कार्यक्रममा सहभागीले सो कुरा बताएका हुन् ।
नेपाल बार एशोसियसन कालिकोटका अध्यक्ष हिक्मतबहादुर बिष्टको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, पत्रकार, महिला अधिकारकर्मीलगायतले आफ्नो धारणा राखेका थिए । अधिबक्ता हिक्मतबहादुर बिष्टले प्रादेशिक राजधानी बारे अबधारणा पत्र प्रस्तुत गर्दै कर्णालीमा मौसमी राजधानी अनिवार्य हुनुपर्ने बताए ।
कर्णालीको खस इतिहाँसलाई संरक्षण गर्न र पहिचानका अधारमा पनि कर्णालीमा मौसमी राजधानी हुनैपर्ने बिष्टले धाराणा व्यक्त गरे । भारतको जुम्वु, कास्मीरको मौसमी राजधानीको उदाहरण दिदै कर्णालीमा मौषमी राजधानी हुनु आवश्यकता देखिएको बिष्टले सुनाए । संविधानको धारा २८८ मा प्रदेशको नाम र राजधानी तोक्ने जिम्मा प्रदेशसभालाइ दिएकाले सोच विचार गरेर जनताको भावनालाई सम्वोधन गरिनुपर्ने अधिबक्ता बिष्टले बताए ।
कर्णालीमा जातिय सघनता, भाषिक, साँस्कृतिक, भौगोलिक र ऐतिहाँसिक सघनताका गरी ५ वटा आधार रहेको अवधारणा पत्रमा उल्लेख छ । सामाथ्र्यका ४ आधारहरु आर्थिक, अन्तर सम्बन्ध, पुर्वाधार विकास र प्राकृतिक साधन स्रोतका सम्भाव्यता रहेकाले कर्णालीको सिँजामा मौसमी राजधानी हुनुपर्ने पत्रमा उल्लेख छ ।
हिजोका दिनहरुमा सिँहदरबारबाट ठगिएका कर्णालीबासीलाई फेरी भेरीले कर्णलीलाई हेप्ने प्रयास गरेको सहभागी लेखक रमेश रावलले बताए । उनले भने, ‘कर्णालीमा राजधानी भएन भने कर्णालीमा पर्यटन विकास र आर्थिक उन्नती हुँदैन् ।’
बर्षौदेखि विकासका दृष्टिकोणले पछि परेको कर्णालीमा विशेष अधिकार सहितको कर्णाली हुनुपर्नेमा नेकपा एमाले कालिकोटका उपाध्यक्ष रमेशकुमार शाहीले बताए । सहभागीले प्रदेश ६ को नाम कर्णाली प्रदेश र राजधानी मौसमी अनिवार्य हुनुपर्नेमा जोड दिएका छन् । समृद्ध कर्णाली प्रदेश हुनको लागि नेपालगंज र बर्दिया ६ नम्वर प्रदेशमा जोडिन आवश्यकता रहेको नेपाली कांग्रेसका सभापति हर्षबहादुर बमले बताए । उनले भने, ‘चिन र भारतको दुवै देशको नाकासंग जोडिनका लागि पनि नेपालगंज र बर्दिया ६ नम्बर प्रदेशमा जोडिदा राम्रो हुन्छ ।’ यदि कर्णालीमा मौसमी राजधानी भएन भने, विकासको गतिले पुरानै कर्णाली हुने अधिबक्ता अमलराज शाहीले बताए ।