काठमाडौं – अध्यागमन विभागले विदेशी सफ्टवेयर ‘इमी’लाई प्रतिस्थापन गर्न नेपाली सफ्यवेर विकास गरिरहेको जनाएको छ । त्यसका लागि नेपाली आईटी इञ्जिनियरले ‘नेपाली पोर्ट’ नामक नयाँ सफ्ट्वेयर विकास गरिरहेका हुन् ।
विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, ‘विदेशी नागरिकको आगमन र नेपाली नागरिकको बर्हिगमनको वैज्ञानिक ढंगले रेकर्ड राख्नका लागि यो सफ्ट्वेयरको विकास गरिएको हो ।’ उनका अनुसार सफ्ट्वेयरको विकासका लागि तीनजना इञ्जिनियर खटिएका छन् । उनीहरु पुल्चोकस्थित इञ्जिनियरिङ कलेजका प्राडक्ट हुन् ।
साइबर सुरक्षालाई ध्यान दिँदै अहिले प्रचलित सफ्ट्वेयरलाई नयाँले विस्थापित गर्न लागेको विभागको भनाइ छ । त्यसमा बायोमेटि्रक विवरणसहितको सूचना प्रणाली पनि जडान गरिनेछ ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा पनि अत्याधुनिक डेस्कको स्थापना गरिने पनि जनाइएको छ । अध्यागमनमै कार्यरत आर्टिटेक इञ्जिनियर प्रज्ञा ढकालको डिजाइनमा नयाँ डेस्क स्थापना गर्न लागिएको हो ।
उनले आफूले विमानस्थलमा ५ महिना काम गर्दा भोगेको अनुभव, अफ्ठ्यारा र सजिलालाई मध्यनजर गरेर डिजाइन तयार पारिएको जानकारी दिइन् ।