काठमाडाैं-लामो समयदेखि अव्यवस्था, बहिष्कार र एजेन्डाविहीनताबाट ग्रस्त संसद्मा सोमबार सांसदहरूले राष्ट्रिय सुरक्षा, बढ्दो सुन तस्करी, राष्ट्रियतामा आँच पुग्ने अभिव्यक्ति र गतिविधिसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षभित्र निर्वाचन हुन नसकेको अवस्थामा संघीय गणतान्त्रिक लोकतन्त्र धरापमा पर्छ भन्दै दिएको अभिव्यक्तिबारे सप्रमाण बहस र स्पष्टीकरण माग गरेका छन् ।
व्यवस्थापिका संसद्को विशेष समयमा एकपछि अर्का सांसदले प्रधानमन्त्रीले देशमाथि गम्भीर खतरा आइपरेको अभिव्यक्ति बाहिर दिनुको सट्टा मुलुकलाई कहाँ र कस्तो खतरा आइलाग्यो भन्ने विषय संसद्मै प्रस्तुत गर्न आग्रह गरे । देशमाथि संकट छिमेकी मित्रराष्ट्रहरूका तर्फबाट हो वा नेपाली सेनाले सत्ता लिने अवस्था आइलागेको हो रु भनेर सांसदहरूले प्रश्न तेस्र्याउँदा संसद्मा उत्तेजना र गम्भीरता दुवै वातावरण देखियो ।
नेपाः पार्टीका सांसद लक्ष्मण राजवंशीले प्रधानमन्त्रीले राष्ट्रका सम्बन्धमा सार्वजनिक कार्यक्रममा गम्भीर अभिव्यक्ति दिने तर संसद्मा केही नभन्ने कार्यलाई रोक्दै मुलुकमा ०१७ सालभन्दा गम्भीर घटना के हुँदैछ भन्नेबारे उनको ध्यानाकर्षण गराउन सभामुखसँग माग गरे । उनले भने, ‘संसद् जारी रहेको अवस्थामा राष्ट्रिय संकटको सामनामा राष्ट्र र जनतालाई एक गराउन पनि प्रधानमन्त्रीले संसद्मा कुरा राख्नुपर्छ ।ु
उनले नेपालमा भारत, चीन वा कहाँबाट खतरा भएको हो, त्यो स्पष्ट पार्न माग गरे ।
‘०१७ सालमा झैं ०६२÷०६३ को उपलब्धि गुम्दैछ भन्नेजस्ता अमूक कुरा गर्नु हुँदैन । सेनाले कु गर्दैछ भन्न खोजेको हो कि रु त्यसो हो भने देश ठूलै भयावह स्थितिमा छ भन्ने कुरालाई किन गोप्य राख्ने ? राजवंशीले प्रश्न गरे । यस्ता साझा विषयमा दलहरू, सांसदहरू र मुलुकका बौद्धिक जगत्बीच परामर्श हुनुपर्नेमा राजवंशीले जोड दिए ।

