साइक्लिङका लागि खोकना राम्रो गन्तव्य हो। स्वदेशी तथा विदेशी साइकलेहरु बरोबर त्यहाँ पुग्छन्। प्राचीन नेवार वस्ती र खेतीबालीका हरियाली हेर्दै साइकल कुदाउँदा बेग्लै आनन्द मिल्छ।
यात्रामा खोकना र बुङ्मती घुम्न पाइन्छ । काठमाडौंको काष्ठमण्डपबाट कालीमाटी, बल्खु, चोभार, चाल्नाखेल, बुङ्मती हुँदै खोकना पुग्न करिब २० किमि । यसलाई ‘हेरिटेज राइड’का नाउँमा कन्सेप्ट नेपालले ब्राण्डिङ गरेको छ। उसले खोकना पुनःनिर्माण तथा पुनःस्थापना समितिसँग सहकार्यमा ०७२ देखि साइक्लिङ इभेन्ट गर्दै आएको हो।
भुइँचालोबाट ध्वस्त तीन वटा सम्पदा (काष्ठमण्डप, बुङ्मती र खोकना)लाई साइक्लिङका माध्यमबाट जोडेर पुनःनिर्माणमा हातेमालो गर्ने उद्देश्यले ‘राइड काष्ठमण्डप टु खोकना’ सुरु गरिएको थियो। गाइजात्राको छेकोमा हरेक वर्ष साइकल -याली गरिन्छ।
आउँदो शनिबार अर्थात २६ साउनका दिन यसको चौंथो संस्करण आयोजना हुँदैछ। त्यसमा करिब दुई सय जना साइकलेहरु माउण्टेन बाइकसहित सहभागी हुने कन्सेप्ट नेपालका संयोजक पवन शाक्यले बताए। त्यसमा सहभागी हुन ५ सय रुपैयाँ तिर्नु पर्छ । त्यो रकमले टिर्शट र लन्च सुविधा पाइनेछ।