यस्तो छ स्थानीय निकायको पुरानो र अहिलेको मतपत्रमा फरक

२१ चैत्र २०७३, सोमबार १४:०७

काठमाडौं । स्थानीय तह निर्वाचनमा लागि निर्वाचन आयोगले मतपत्र छपाइको काम धमाधम गरिरहेको छ ।
स्थानीय तह निर्वाचनसम्बन्धी ऐनअनुसार संसदमा प्रतिनिधित्व गरेका २७ दलले देशभर एउटै चिन्ह पाउँछन् । अन्य दलले भने स्वतन्त्र दलका रूपमा व्यक्तिगत निर्वाचन चिन्ह प्राप्त गर्नेछन् ।
काठमाडौंमा ४७ दल दर्ता भएका छन् । त्यसमध्ये संसदमा प्रतिनिधित्व भएका दलले पार्टीकै चिन्ह लिएर निर्वाचनमा भाग लिन पाउँछन् । अन्यले भने छुट्टाछुट्टै चुनाव चिन्ह पाउँछन् ।
आयोग प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार संसदमा प्रतिनिधित्व नभएका एउटै दलले सबै पदमा उमेदवारी दिए पनि चिन्ह फरक–फरक हुनेछ ।
आयोगले दलगत सहभागिताका आधारमा ६ आकार र ७५ प्रकारका मतपत्र छापिरहेको प्रवक्ता शर्माले जानकारी दिए ।

२०४९ मा ५ दललार्ई मात्रै पार्टीको निर्वाचन चिन्ह
यसअघि २०४९ सालको स्थानीय निर्वाचनमा संसदमा तीन प्रतिशत प्रतिनिधित्व भएका दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएर एउटै निर्वाचन चिन्ह पाएका थिए । नेपाली कांग्रेस, राप्रपा, सद्भावना पार्टी, नेकपा एमाले र जनमोर्चाले मात्रै निर्वाचन चिन्ह प्राप्त गरेका थिए । अन्य दलले स्वतन्त्र दलको हैसियतमा निर्वाचनमा भाग लिएका थिए । मतपत्र भने गाविस र नगरपालिकाका लागि छुट्टाछुट्टै थियो ।

२०५४ मा ४ दललाई मात्रै चुनाव चिन्ह
त्यसैगरी २०६४ मा भएको स्थानीय निकायको निर्वाचनमा ४ दलले मात्रै पार्टीको चुनाव चिन्ह लिएर भाग लिन पाएका थिए, जसमा एमाले, सद्भावना, कांग्रेस र राप्रपा रहेका थिए । अन्य दलले स्वतन्त्र रूपमा निर्वाचनमा भाग लिएका थिए ।
संसद र संविधानसभा निर्वाचनमा भने सबै दलले आ–आफ्नो पार्टीको चुनाव चिन्हमा निर्वाचनमा भाग लिन पाएका थिए ।

Next Post

दुई हजारले पाउने, तीन लाखले नपाउने

२१ चैत्र २०७३, सोमबार १४:०७
शुक्रबारका दिन प्रधानमन्त्री निवासमा बसेर कांग्रेस नेता रमेश लेखकसहितले तयार पारेर हिजो संसदमा दर्ता भएको संविधान संशोधन मस्यौदाको लक्ष्य असन्तुष्ट मधेसी दलको चित्त बुझाउनु हो । के होला त त्यहाँ त्यस्तो व्यवस्था ? धेरैलाई चासो छ । हिजोदेखि संसद्मा छिराइएको मस्यौदामा राष्ट्रियसभा सदस्य निर्वाचित गर्ने अधिकारबाट स्थानीय तहका प्रमुख, उपप्रमुखलाई […]