चितवन : ‘गोहीले हात लगेर के भो, ज्यान बाँच्यो, त्यसैमा खुसी छु,’ हर्षित मुद्रामा प्रसाद महतोले भने। पूर्वीचितवनको कुमरोज नजिकै रहेको इचर्नी खोलामा माछा मार्न जाँदा बुधबार अपराह्न गोहीको आक्रमणमा परेका ४६ वर्षीय प्रसाद महतो अहिले चितवनको भरतपुरस्थित अलाइभ अस्पतालमा उपचाररत छन्। दाहिने हात सोही दिन गोहीले चुँडेर लगे पनि ज्यान बचेकोमा खुसी छन् उनी।
भेट्न शुक्रबार बिहान अस्पताल पुग्दा उनी हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रमोद लामिछानेको निगरानीमा थिए। अस्पतालकै शय्यामा रहेका प्रसादमा हात गुमेको पीडाभन्दा ज्यान बाँचेको खुसी प्रस्टै देखिन्थ्यो। उनीमात्रै होइन परिवारका अन्य सदस्यलाई पनि ज्यान बचेकैमा सन्तोष छ। भतिज विफल महतो भन्छन्, ‘हात गएर केही भा’छैन, हाम्रो मान्छे बाँच्नुभो, त्यही ठूलो कुरा हो।’ खैैरहनी-१३ धर्मपुर घर भएका उनी बुधबार दिउँसो ३ बजे माछा मार्न गएका थिए। साँढे ३ बजे इचर्नी खोलामा तियारी जाल बिछ्याउँदै थिए। उनका साथीहरु माइला र पलार पनि सँगै थिए।
दुई छेउबाट जाल बिच्छ्याउँदै जाँदा खोला छेउमै कहाँबाट मगर गोही आयो पत्तै भएन। ‘च्याप्प हात समात्यो, तान्न थालिहाल्यो, अनि ५ फन्का घुमायो, पछार्यो,’ त्यो दुखद् क्षण सम्झिँदै प्रसाद भन्छन्, ‘लान खोजेथ्यो, म डगगाइन, तर हात चुँडेर लग्यो।’ त्यतिबेला साथमा लठ्ठी भएको भए हात बचाउन सकिन्थ्यो कि भन्ने लागेको छ उनलाई। उनी र सँगै रहेका साथीले हात तथा खुट्टाले निरन्तर गोहीलाई प्रहार गरेका थिए, तर केही सिप लागेन। उनको मेजर शल्यक्रिया सफल भएको छ। ‘हड्डी लामो थियो। ३ सेन्टीमिटर हड्डी काटिएको छ,’ डा. प्रमोद लामिछानेले भने।
उनकाअनुसार रगत बग्ने नशा बन्द भएकाले भाग्यवश प्रसाद बाँच्न सफल भए। अस्पताल आउनु अगावै रक्तश्राव नरोकिएको भए बचाउन मुस्किल हुनसक्थ्यो। चिकित्सकले उनलाई अब १ साता अस्पतालमै बस्न भनेका छन्। उनी ९ महिना विदेश बसेर फर्किएका हुन्। विदेशमा कमाएको त्यही पैसाले उपचार गराइरहेका छन्। थाहा खबरबाट