कालिकोट – सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्वरबहादुर शाही (डिवी) ले कैदीहरुलाई खेलकुद सामाग्री वितरण गरेका छन् । जिल्ला कारागार कालिकोटमा रहेका कैदीहरुलाई शाहीले खेलकुद सामाग्री वितरण गरेका हुन् । बन्दीहरुलाई भलिवल, नेट, व्याडमिन्टन, लुडो, चेसलगायतका खेलकुद सामाग्री वितरण गरिएको छ ।
सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष शाहीले चुनावमा निर्वाचित हुन पुर्व बन्दीलाई सरसफाई सामाग्री वितरण गरेका थिए । अध्यक्ष शाहीले बन्दीलाई भने, ‘कारागार भनेको सुधार गृह हो । यसले नयाँ पाठशाला सिकाउँछ । मानव भए कमजोरी हुन्छ । तर रुपान्त्रण भएर अघि बढ्नु पर्छ ।’
यस अघि सरसफाई सामाग्री वितरण गर्दा कैदीले खेलकुद सामाग्री माग गरेका हुनाले आफुले खेलकुद सामाग्री नै वितरण गरेको अध्यक्ष शाहीले बताए । जिल्लामा बर्खा सिजनका च्याउ उम्रे झै गैरसरकारी संस्था भए पनि अहिलेसम्म जिल्ला कारागारमा कुनै पनि सहयोग नगरेको कैदीहरुले गुनासो गरेका छन् । जिल्ला कारागारको क्षमताभन्दा धेरै कैदी भए पछि खान वस्न पनि निकै समस्या भएको छ ।
हाल कारागारमा ५९ जना बन्दी रहेका छन् । जसमा ५५ जना पुरुष र ४ जना महिला रहेका छन् । १५ जनासम्म क्षमता भएको कारागारमा ५५ जना बन्दी रहेका छन । १० जना महिलाको क्षमता भएकोमा भने ४ जना महिला रहेको जेलर मोहनप्रसाद सर्माले बताए । शर्माका अनुसार, कारागार भित्र महिलाको खानेवस्ने राम्रो भए पनि पुरुषको भने विजोग भएको छ । सुत्नको लागि कोलियामा पल्टीनुपर्ने बाध्यता छ ।
कैदीहरुले कारागार भित्रै सिपमुलक तालिमको सहयोग गर्न सरोकारवालालाई सहयोग याचना गरेका छन् । बन्दी जिवन पछि बाहिर आएमा कुनै रोजगारका लागि सिप नै काम दिने भएकाले सिपमुलक तालिमको सहयोग मागेको चौकीदार लक्ष्मण शाहीले बताए । कैदीहरुका लागि सान्नी त्रिवेणी गाउँपालिकाबाट सिपमुलक तालिमका लागि सहयोगर्ने अध्यक्ष डम्वर बहादुर शाहीले प्रतिबद्धता समेत गरेका छन् । सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष नरेश बम समेत सहभागीता रहेको खेलकुद सामाग्री वितरण कार्यक्रममा कैदीहरुले एक घण्टासम्म कारागार भित्रको कथा व्यथा सुनाएका थिए ।