काठमाडौं- सरकारले स्वास्थ्य सेवामा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अतिरिक्त समयसेवा दिएबापत तलबको ५० प्रतिशतसम्म अतिरिक्त पारिश्रमिक दिने भएको छ। सरकारले नयाँ कार्यविधिमार्फत बिदाको दिनसमेत १० देखि ५ बजेसम्म निजी ‘प्राक्टिस’ गर्न नपाइने र अन्य समयमा बाहिर काम गर्न पूर्वस्वीकृति अनिवार्य लिनुपर्नेसहित यस्तो व्यवस्था गर्न लागेको हो।
दुई बजेसम्म मात्र खुल्दै आएका स्वास्थ्य संस्थालाई ‘विशेष र संवेदनशील क्षेत्र’ मान्दै पाँच बजेसम्म खुलाउन यस्तो व्यवस्था गर्न लागिएको हो। बिहीबार मन्त्रिपरिषद्ले स्वास्थ्य सेवाअन्तर्गतका ‘चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले पालना गर्नुपर्ने सेवासर्तसम्बन्धी कार्यविधि– २०७३’ मार्फत् अतिरिक्त समय काम गर्नुपर्ने व्यवस्था र सुविधा घोषणा गरेको हो।
स्वास्थ्य संस्था १०–५ बजेसम्म खोल्ने व्यवस्था गर्ने भदौ २३ को प्रधानमन्त्रीको घोषणा र सोही आधारमा स्वास्थ्य मन्त्रालयको पटकपटकको निर्देशन दिएको थियो। यसबीच तोकिएको समयमा स्वास्थ्य संस्था नखोले कारबाही तथा अनुगमनका लागि स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचारसमेत गरिसकेको छ। तर सरकारी चिकित्सक एवं स्वास्थ्यकर्मीले अतिरिक्त सुविधाबिना सेवा दिन अप्ठेरो पर्ने भन्दै असन्तुष्टि जनाएपछि स्वास्थ्यले यस्तो प्रस्ताव लगेको थियो।
स्वास्थ्य सेवाको प्रकृतिका आधारमा दिनुपर्ने सेवासमय बढी हुने भन्दै चिकित्सकले अतिरिक्त समयबापत सुविधा माग गरेपछि स्वास्थ्यमन्त्री गगन थापाले यस्तो प्रस्ताव लगेका थिए।
मन्त्रिपरिषद्ले उक्त कार्यविधि सहमतिसहित आर्थिक पूर्वाधार समितिमा पठाएको छ। समितिले सामान्य हेरफेर गरेर सहमति दिएलगत्तैदेखि लागू हुने स्वास्थ्यमन्त्री गगन थापाले बताए। स्रोतका अनुसार मन्त्रालयले शतप्रतिशतसम्म सुविधा दिने प्रस्ताव गरे पनि अर्थले ५० प्रतिशत मात्र दिने सहमति दिएको थियो।
पछिल्लोपटक माघ ३ मा अर्थमा सहमतिका लागि प्रस्ताव गएकोमा ५ गते नै अर्थमन्त्रीस्तरीय निर्णयपछि ६ गते मन्त्री थापाले ठाडो प्रस्ताव मन्त्रिपरिषद् लगेका थिए।
स्वास्थ्यमन्त्री थापाले मन्त्रिपरिषद्ले पास गरेको कार्यविधिपछि १० देखि ५ बजेसम्म स्वास्थ्य संस्था खोल्ने सरकारी निर्णय कार्यान्वयनमा कुनै बाधा नहुने विश्वास व्यक्त गरे।
‘विशेषज्ञ प्रकृतिको सेवा भएकाले सोहीअनुसार सेवाप्रवाहका लागि यो कार्यविधि ल्याइएको हो,’ थापाले नागरिकसँग भने। स्वास्थ्य अधिकारीले सुविधा थप गरेसँगै अनेक बहाना गरेर दिउँसै सरकारी अस्पतालबाट भाग्ने चिकित्सकको प्रवृत्ति रोक्न सहज हुने विश्वास लिएका छन्।
सरकारको यो निर्णय लागू हुँदा देशभरका २ हजार ८ सय स्वास्थ्यचौकीसहित ४ हजारभन्दा बढी स्वास्थ्य संस्थामा २ बजेको नियमित र ५ बजेसम्म अतिरिक्त सेवा स्वरुपमा सेवा प्रवाह हुनेछ।