प्रचण्डलाई देउवाले नै दिए सरकार ढाल्ने चेतावनी

११ माघ २०७३, मंगलवार ०७:०२

काठमाडौँ ११ माघ । स्थानीय तहको निर्वाचन गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमति गरी प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि चुनावको मिति तत्काल घोषणा गर्न सत्तारु दलबाटै तीव्र दबाब परेको छ ।

प्रचण्ड सरकारका प्रमुख सत्तासाझेदार दलका सभापति देउवाले जेठमा स्थानीय तहको निर्वाचन गर्न नसके सरकार ढाल्ने चेतावनी दिएको स्रोतको दावी छ । आगामी चैतमा स्थानीय तहको निर्वाचन गरी देउवालाई सरकार हस्तान्तरण गर्ने माओवादी कांग्रेसको सहमति थियो । उक्त सहमति अनुसार प्रचण्ड सरकारको आयु अब ४ महिना मात्रै बाँकी छ ।

केही दिनअघि बालुवाटारमा भएको भेटमा देउवाले अन्य कामलाई थाती राखेर भए पनि सरकार निर्वाचनको मिति घोषणा गर्ने बाटोमा अघि बढ्नुपर्ने बताएका थिए । ‘चैतसम्मलाई भनेर प्रधानमन्त्री बन्नुभो, अब जेठसम्म हुने निश्चित भयो, त्यसपछि पनि कुर्नुप¥यो भने त सकिन्न होला, जेठमा चुनाव गर्ने गरी तयारी थाल्नुप¥यो प्रचण्डजी’ देउवाले हाँस्दै प्रचण्डलाई भनेका थिए ।

स्रोतका अनुसार प्रचण्डले पनि हाँसोमै जवाफ फर्काउँदै ‘जेठमा नभए के भो त मंसिरमा स्थानीय र प्रदेशको गरौँला, त्यसपछि तपाई २ वर्ष ढुक्कले चलाउनुस्’ भनेका थिए । तर देउवा र प्रचण्डबीच स्थानीय तहको निर्वाचन जुनसुकै हालतमा जेठभित्र गर्ने समझदारी भएको छ ।
भेटका क्रममा देउवाले आफूलाई पार्टीभित्रैबाट दबाब पर्न थालेको भन्दै चुनावको मिति घोषणा गर्न सहमति खोज्न ढिलाई गर्न नहुने भनाई राखेका थिए । प्रचण्डले आफू चुनावको वातावरण बनाउन दिनरात लागिरहेको जानकारी गराउँदै सरकारमा बसिरहन आफूलाई मन नभएको बताएका थिए ।

‘चुनाव गराएर तपाईलाई प्रधानमन्त्री बनाउने सहमति अनुरुप अघि बढ्नुपर्ने कुरामा म दुईमत छैन, जुन दिन चुनाव हुन्छ त्यसको भोलिपल्ट नै म राजीनामा दिन्छु, मलाई सरकारमा बसिरहन मन छैन’ प्रचण्डले भनेका थिए । स्रोतका अनुसार प्रचण्ड देउवाले एमालेलाई सरकारबाट केही वर्ष बाहिरै राख्नुपर्ने विषयमा समेत कुरा गरेका थिए ।

एमालेले हाल देखाइरहेको प्रवृत्तिले उ सत्तारबाहिर बस्नै नसक्ने कुराको पुष्टि भएकाले केही वर्ष एमालेलाई सत्ताबाहिर राखे मुलुकको विकास हुन सक्ने भनाई देउवाले राखेका थिए । प्रचण्डले भने देशमा देखिने राजनीतिक तथा अन्य समस्या समाधानको लागि एममालेको साथ अनिवार्य भएकाले तत्काल एमालेलाई चिढ्याउन नहुने भनाई राखेका थिए । अन्तिममा देउवाले जेठमा चुनाव नभए धेरै समय पर्खिन नसक्ने प्रष्ट पारेको स्रोतको भनाई छ ।

Next Post

वनमा यसरी भैरहेछ खुलेआम चोरी शिकारी

११ माघ २०७३, मंगलवार ०७:०२
कालिकोट–जिल्लाको सार्वजनिक वनमा पाइने लोपोन्मुख बन्यजन्तु चोरी शिकारी हुँदै आएको छ।। जिल्ला वन कार्यालय भने चोरी शिकारी रोक्न उदासिन छ। बढ्दो वन फँडानी र जलवायु परिवर्तनले समस्यामा परेको वन्यजीवन चोरी शिकारीले थप आक्रान्त बनेको छ। जिल्लामा ८ वटा इलाका वन कार्यालय छन्। तर कार्यालयबाट वन र वन्यजीवन संरक्षणमा ठोस काम […]