दाहालसँग कार्कीको गुहार

११ माघ २०७३, मंगलवार ०६:५९

काठमाडौंः उच्च अदालतका न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिलले सुरु गरेको इजलास बहिष्कार आन्दोलन समाप्त हुने कुनै संकेत नदेखिएपछि प्रधानन्यायाधीश सुशीला कार्कीले हस्तक्षेप गर्न सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई गुहारेकी छन् । सोमबार फुलकोर्टको बैठकमा आफूले प्रधानमन्त्रीसँग भेटेको खुलासा गरेकी प्रधानन्यायाधीश कार्कीले भेटघाटको प्रयोजनबारे कुनै विवरण खुलाइन् ।
स्रोतका अनुसार प्रधानन्यायाधीश कार्कीले इजलास बहिष्कारमा खुलेरै लागेका महान्यायाधिवक्ता रमन श्रेष्ठलाई सम्झाउन प्रधानमन्त्री दाहालसँग आग्रह गरेकी थिइन् । प्रधानमन्त्रीले ‘हेरौँला’ भन्ने आश्वासन दिएको स्रोतले उल्लेख गरेको छ । तर, उच्च न्यायालयका न्यायाधीश नियुक्ति र सरकारी वकिलहरूको बहिष्कारलाई लिएर फुलकोर्टमा न्यायाधीशहरूबीचै मतभेद देखा परेको, कार्कीनजिक मानिने केही न्यायाधीशहरूले आन्दोलनकारीहरूलाई कारबाही गर्नुपर्ने माग राखेको र केही अरूले वार्ताद्वारा समस्याको समाधान गर्न माग राखेको स्रोतले उल्लेख गरेको छ ।
बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री दाहाल र प्रधानन्यायाधीशबीच आन्दोलनलाई लिएर केही समय कुराकानी भएको थियो । ‘उहाँहरूबीच केहीबेर कुराकानी भएको थियो । प्रधानन्यायाधीशबाट सरकारी वकिलको आन्दोलन रोक्न पहल गरिदिनुर्‍यो भन्ने कुरा थियो’, स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशको कुरामा गम्भीरता देखाउनुभयो । महान्यायाधिवक्तासँग बुझ्ने कुरा भएको छ ।’
फुलकोर्टमा अधिकांश न्यायाधीशले आन्दोलनका कारण न्याय सम्पादनप्रक्रिया अवरुद्ध भएको भन्दै वार्तामार्फत समाधान खोज्न प्रधानन्यायाधीश कार्कीलाई सुझाव दिएका थिए । प्रधानन्यायाधीश कार्कीले सरकारी वकिलको आन्दोलनलाई लिएर समाधान खोज्न फुलकोर्ट डाकेकी थिइन् । बैठकमा सहभागी एक न्यायाधीशले समेत प्रधानमन्त्रीलाई भेटेको विषयमा कार्कीले कुरा राखेको बताए ।

Next Post

प्रचण्डलाई देउवाले नै दिए सरकार ढाल्ने चेतावनी

११ माघ २०७३, मंगलवार ०६:५९
काठमाडौँ ११ माघ । स्थानीय तहको निर्वाचन गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमति गरी प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि चुनावको मिति तत्काल घोषणा गर्न सत्तारु दलबाटै तीव्र दबाब परेको छ । प्रचण्ड सरकारका प्रमुख सत्तासाझेदार दलका सभापति देउवाले जेठमा स्थानीय तहको निर्वाचन गर्न नसके […]