प्रधानमन्त्री प्रचण्ड युएई प्रस्थान

१ माघ २०७३, शनिबार १५:५५

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार संयुक्त अरब इमिरेट (युएर्इ) को राजधानी अवुधावी प्रस्थान गरेका छन् ।
युएइका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहम्मद विन रसिद मोक्तुमको विशेष निमन्त्रणामा प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, संवैधानिक अङ्गका प्रतिनिधि, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीलाई बिदाई गरे ।
प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी, उहाँको स्वकीय सचिवालयका सदस्य रहेका छन् । यस्तै, टोलीमा ऊर्जा मन्त्री जनार्दन शर्मासहित ऊर्जा मन्त्रालयका सहसचिवलगायतका उच्च अधिकारी पनि सहभागी छन् ।
प्रधानमन्त्रीले आगामी सोमबार सो समिटमा ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपालले अवलम्बन गरिरहेको नीति एवम् भावी परिदृश्यका बारेमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले युएइका राष्ट्रप्रमुख, सरकार प्रमुख एवम् उच्च अधिकारीसँग आपसी हित, द्विपक्षीय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा महत्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाली कामदारको समस्या समाधान गर्न, सुरक्षित एवम् भरपर्दो रोजगारीको वातावरण बनाइदिन र कामदार सुरक्षाको विषयमा समेत समकक्षी एवम् उच्च सरकारी अधिकारीसँग कुराकानी गर्ने कार्यक्रम छ ।
शिष्टाचार महापाल अधिकारीले कूटनीतिक सम्बन्ध स्थापना भएपछि युएर्इमा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण यसअघि नभएको बताए ।
प्रधानमन्त्रीले उनका समकक्षी मोहम्मद विन रसिद मोक्तुमसँग आपसी हित र द्विपक्षीय चासोका विषयमा आगामी आइतबार द्विपक्षीय कुराकानी गर्नेछन् ।
यस्तै आगामी सोमबार समिटको उद्घाटनसत्रमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नेछन् भने सोही दिन सम्मेलनमा सहभागी हुन आएका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग आपसीहित र चासोका विषयमा छलफल गर्नेछन् ।
वैकल्पिक ऊर्जाका क्षेत्रमा युएर्इले गरेको विकास संसारका लागि अनुकरणीय रहेको सन्दर्भमा त्यसबाट नेपालले फाइदा लिन सक्नेछ । सम्मेलनमा ऊर्जाका क्षेत्रमा काम गर्दै आएका ३२ मुलुकका ६०० बढी कम्पनीले भाग लिँदैछन् भने विभिन्न ३० कार्यक्रममा १२५ जना विषय विज्ञले आफ्नो प्रवचन दिने कार्यक्रम छ ।

Next Post

शीतलनिवासमा पूर्वराजा ज्ञानेन्द्र पाहुना !

१ माघ २०७३, शनिबार १५:५५
काठमाडौं: केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा अतिथिका रूपमा आमन्त्रित गरिएका छन् । २०६३ सालयता राष्ट्रिय राजनीतिमाथि एकाधिकार जमाउँदै आएका राजनीतिक शक्तिहरूद्वारा पूर्वराजालाई गरिएको सामाजिक र राजनीतिक बहिष्कार समाप्तिको सुरुआत […]