कालिकोट,माघ १
संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनबहादुर शाहीले दोस्रो पटक तिन दशकदेखि निर्माणाधिन विमानस्थलको अनुगमन गरेका छन् ।
गत भदौमा पनि मन्त्री शाहीले हेलीकप्टर लिएर जिल्लाको सुनथराली विमानस्थल कोटवाडाकाे अनुगमन गरेका हुन । हुम्लाको खार्पुनाथ मन्दीर उद्घाटन गरि फर्किएर हेलीकप्टर टेकअप गरी शनिवार छड्के अनुगमन गरिएको हो । विमानस्थलको अनुगमन पश्चात निर्माण कार्य तिब्र भएको मन्त्रीका निजी सचिवालयका प्रतिनिधी दमनबहादुर शाहीले जानकारी दिए । यही माघ मसान्तसम्म टेष्ट फलाईट गर्ने प्रतिबद्धता गरेका छन् ।
३१ बर्षदेखी निर्माणाधिन कोटवाडा बिमानस्थल संचालनमा ल्याएरै छोड्ने मन्त्री शाहीले बताए । मन्त्री शाहीले भने,‘कर्णालीको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानस्थलको आवश्यकत्ता छ, मेरै कार्यकालमा जहाज अवतरण गर्छु ।’ कर्णालीको पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि फराकिलो मनले सोच्नु पर्ने र पर्यटन क्षेत्रको विकास भयो भने मात्रै कर्णाली समृद्ध हुने मन्त्री शाहीले बताए ।
उनले भने,‘सबैको साथ सहयोग आवश्यक छ, मेरो कार्यकाल सफल पार्न सवैको साथ चाहीन्छ । यो वीचमा सबैको साथ सहयोग रह्यो र कानुनी अवरोध भएन भने जहाज कोटबाडामा अवतरण गर्छौ ।’ जिल्लाको एकमात्र विमानस्थल निर्माण कार्य पुरा नभएपछि स्थानियको हवाइ जहाज चढ्ने सपना मन्त्रीको अनुगमनले केहि आसा पलाएको छ । नागरिक उड्डयन प्राधिकरण र स्थानिय उपभोक्ताको लापरबाहीका कारण विमानस्थल निर्माण कार्य सुस्त गतिमा थियो । विमानस्थल शिलान्यास गरेको ३१ वर्ष वितिसकेको छ ।
२०४२ सालमा जिल्ला विकास समितीको १ लाखको लागतमा विमानस्थलको काम सुचारु गरिएको थियो । विगतको सशस्त्र द्धन्द्ध सकिए लगतै विमानस्थल निर्माणका लागी स्थानीय राजनितिक दललाई जिम्मा दिए पनि कामको गति अत्यान्तै कममात्रामा भएको स्थानियको दुखेसो छ ।
विमानस्थल निर्माणको लागि करीब २५ करोड बजेट खर्च भईसकेको नागरिक तथा उड्डयन प्राधिकरणले जनाएको छ । पंचायतकालमा शिलान्यास भएको विमानस्थल अझै अलपत्र पर्नु भनेको दुःखको कुरा भएको जिल्लवासीको गुनासो छ ।
हाल सम्मका प्रमुख जिल्ला अधिकारीले विमानस्थलका बारेमा कुनै वास्था नगरी अनुगमन समेत नगरेको स्थानियबासीको चौतर्फी गुनसो छ । २०४२ सालमा शिलान्यास गरेको विमानस्थलमा नागरिक उड्डयन प्राधिकरण र जिल्ला प्रशासन कार्यालयले विमानस्थलको अवस्था वारे सरोकारवालाले चासो देखाएका छैनन् । विमानस्थलको प्रशासन, प्राधिकरणले रेखदेख नगरे पछि स्थानियको गुनासो बढ्न थालेको हो । जिल्लावासीको दबाव पछि प्राधिकरणले ठेक्कामा दिएर काम संचालन गरेको छ । समयमा ठेक्का दिएको भए तिन दशक सम्म निर्माण कार्य यसरी अलपत्र नपर्ने स्थानियको भनाई छ । स्थानिय राजनितिक दल द्धारा उपभोत्ता समिती गठन गरि कामको जिम्मा दिए पनि उनिहरुले कामको गति शुन्य हुँदा नागरिक तथा उड्यन प्राधिकरणलाई सवै क्षेत्रबाट आग्रह दबाव भए पछि ठेक्कामा दिएको छ । विमानस्थल ठेक्कामा लिएपछि पहिलेको जस्तै लाप्रबाही नगर्न स्थानियले ठेकेदारलाई सुझाव दिएका छन् । ठेक्का दिनु पुर्वको उपभोक्ता समितिले विमानस्थलमा काम गरे वापतको ज्याला नपाएको मजदुरहरुको गुनासो छ । कर्णालीका मुगु,डोल्पा,जुम्ला र हुम्लामा विमानस्थल समयमै सञ्चालन भैसकेका छन् । कालिकोटमा अहिलेसम्म विमान अवतरण नहुनु राज्यले निगरानी नगरेकै कारण यस्तो अवस्था भएको यहाँ जानकारहरु बताउँछन् । पर्यटन मन्त्री शाहीको कार्यकालमा दुई पटक अनुगमन भएपछि धेरै आसा पलाएको स्थानीयबासीले बताए ।