काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आजको संसद बैठकमा नबोल्ने बुझिएको छ । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको आज जवाफ दिने संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची छ ।
प्रधानमन्त्री शाहको जवाफपछि नीति तथा कार्यक्रम आजैको बैठकमा निर्णयार्थ पेश गरिने बताइएको थियो । तर,हिजो सांसदहरुले उठाएका प्रश्नको उत्तर अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले दिने स्रोतले बतायो ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८३ र ८४ को सरकारको नीति तथा कार्यक्रम अस्ति सोमबार अपरान्ह संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिएको थियो । राष्ट्रपति बोल्दाबोल्दै प्रधानमन्त्री उठेर हिँडेपछि उक्त कार्यको सर्वत्र आलोचना भएको छ ।
हिजो संसद बैठकमा सांसदहरुले समेत उक्त विषय उठाएका थिए । छलफलमा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहले आज जवाफ दिने कार्यसूची तय गरिए पनि अर्थमन्त्रीले जवाफ दिने अवस्था उत्पन्न भएको छ ।


