वीरगञ्ज – बाराको कलैया उपमहानगरपालिका मेयर राजेश राय यादवलाई बारा प्रहरीले पक्राउ गरेको छ । कालोबजारी ऐन अन्तर्गत दर्ता भएको मुद्दाको अनुसन्धानको क्रममा मेयर यादवलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्त गौतम मिश्रले जानकारी दिए ।
मिश्रले उपमहानगरपालिकाका विभिन्न वडाहरुमा राहतमा कुहिएको दाल वितरण गरेपछि प्रहरीमा दर्ता भएको कालोबजारी मुद्दाको अनुसन्धानको लागि मेयर यादवलाई नियन्त्रणमा लिइएको बताए ।
‘कालोबजारी मुद्दामा अनुसन्धानको लागि मेयर यादवलाई नियन्त्रणमा लिएका हौ’, मिश्रले भने, ‘यस बारे थप अनुसन्धान गर्दैछौँ ।’
कलैया उपमहानगरपालिकाले लकडाउनबाट समस्यामा परेका अति विपन्न परिवालाई कुहिएको दाल राहतमा वितरण गरिएपछि प्रहरीले अनुसन्धान गरि कालोबजारी मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको थियो ।
सो क्रममा राहतमा वितरण गर्नको लागि दाल स्टोर गरिएको कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको यादव कोल्ड स्टोरमा राखिएको ३ सय ८० बोरा दाल नियन्त्रणमा लिई प्रहरीले स्टोरलाई शिल समेत गरेको थियो ।
प्रहरीले त्यहाँ स्टोर गरिएको दालको नमुना लिएर खाध प्रविधि तथा गुण नियन्त्रण प्रयोगशाला हेटौँडामा परीक्षणको लागि पठाएकोमा त्यहाँबाट दाल गुणस्तहीन रहेको प्रमाणित भएको थियो ।
नेपाली कांग्रेसका नेता एवं पुर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको उक्त गोदाम उनका छोरा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले सञ्चालन गर्दै आएका छन् ।