सुर्खेत । ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाहीले अव समाज सेवा गर्ने बाटो रोजेकी छन् । समाजमा हुने छाउपडी प्रथा, जातीय छुवाछुतलगायतका समाजिक विकृतिको न्युनिकरण गर्ने अभियान थाल्ने भएकी हुन् । पछाडी परेका महिला तथा अन्य समुदायको हितमा काम गर्ने अठोट रहेको शाहीले बताइन् ।
हालै काठमाडौमा सिजन मिडियाले सम्पन्न गरेको ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ मा तीव्र प्रतिस्पर्धा गरेर विजेता बनेकी सन्तोषीले कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी आफ्नो भावी लक्ष्यका बारेमा प्रस्ट पारेकी हुन् ।
विशेष गरी नारीले अवसर र सफलता पाउन चुनौति भए पनि अप्ठ्यारोलाई छिचोलेर अगाडी बढ्नु पर्ने उनले बताइन् । जोखिम भित्रको अवसर र महेनत भित्रको फल पाउँन सदैव सक्रिय भएर समाज सेवा गर्ने शाहीले बताइन् ।
गत माघको पहिलो साता देशभरका प्रतिस्पर्धीलाई पछाडि पार्दै ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ उपाधि हातपारेकी सन्तोषीले ‘फष्ट नेपाल फाउन्डेशन’ को ब्राण्ड एम्वासडरमा नियुक्त भएको समेत शाहीले सञ्चारकर्मीलाई जानकारी गराइन् । ‘फष्ट नेपाल फाउण्डेशन’ मार्फत वैदेशिक रोजगारीको सिलसिलामा काम गर्दा स्वास्थ्यमा समस्या परेका तथा दुःख पाएका व्यक्तिलाई उद्दार गर्ने बताइन् । त्यस्तै दुर्घटनामा परेका नेपाली दाजुभाइ तथा दिदी बहिनीको उद्दारका कार्यमा सहयोग गर्ने तयारी रहेको शाहीले बताइन् । समाज सेवा नै नितान्त सामाजिक कार्य भएकाले विशेष गरी कर्णाली प्रदेशमा यो अभियान सञ्चालन गर्ने सन्तोषीले बताइन् ।
सञ्चारकर्मीको प्रश्नमा उनले मुहार तथा शारीरिक सौन्दर्यता मात्र नभइ मिसेस ब्युटी क्विनमा क्षमता र दक्षतालाई समेत आधार मानेर प्रतिस्पर्धीबाट विजेता भएको सुनाइन् । स्वस्थ प्रतिस्पर्धाले आफूलाई निकै हिम्मत र हौसला दिएको शाहीको भनाइ थियो ।