बैंकमा कर्जा बढ्यो, निक्षेप घट्यो

११ माघ २०७३, मंगलवार ०६:४९

काठमाडौं- बैंकले निक्षेपको ब्याजदर बढाउँदा पनि रकम संकलन हुन सकेको छैन। तर, कर्जाको माग भने अत्यधिक बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने निक्षेपभन्दा कर्जा प्रवाह निकै बढेको देखिन्छ।

केन्द्रीय बैंकको पछिल्लो तथ्यांक अनुसार पुस अन्तिम एक साता बैंकहरुले लगानी २७ अर्बले बढाएका छन् भने निक्षेप संकलन २१ अर्बमात्र भएको छ।

पुस २२ गते बैंकमा निक्षेप १८ खर्ब ८६ अर्ब रुपैयाँ थियो। सोही महिनाको २९ गतेसम्म निक्षेप संकलन १९ खर्ब ७ अर्ब पुगेको छ। यसबीचमा बैंकको निक्षेप संकलन २१ अर्बले बढेको छ। यसैगरी, पुस २२ गतेसम्म बैंकले १५ खर्ब ६३ अर्ब लगानी गरेका थिए। त्यही महिनाको २९ गतेसम्म बैंकले १५ खर्ब ९० अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। उक्त अवधिमा बैंकको लगानी २७ अर्बले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले दखाउँछ।

बैंकहरुमा निक्षेपकर्तालाई फिर्ता गर्ने रकमको कमी नभए पनि लगानीयोग्य पुँजीको अभाव देखिएको छ। सरकारसँग रहेको करिब २ खर्ब रुपैयाँ खर्च नगरेका कारण यस्तो अवस्था आएको हो।

सरकारसँग भएको रकम खर्च नगरेसम्म लगानीयोग्य रकमको अभाव हुने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाले बताए। ‘लगानीयोग्य पुँजी अभाव हटाउन सरकारसँग भएको रकम खर्च गर्नुपर्छ,’ उनले भने, ‘सरकारको खातामा अड्केको पैसा बजारमा आउनु पर्छ।’

लगानीयोग्य पुँजीको अभावका कारण बैंकहरुले ऋण प्रवाहलाई कटौती गर्नुपर्ने स्थिति आएको पनि उनले जानकारी दिए। ‘ऋण प्रवाहको गतिलाई कम (स्लो डाउन) गर्नुपर्ने स्थिति आएको छ,’ प्रमुख कार्यकारी अधिकृत दाहालले भने, ‘लगानीयोग्य पुँजीको अभाव भएकाले बैंकहरुले पनि ऋण प्रवाहलाई कम गर्नुपर्ने भएको छ।’
नेपाल राष्ट्र बैंक पनि लगानीयोग्य पुँजीको अभाव भएको स्वीकार्छ। बैंकहरुमा तरलता (लगानीयोग्य पुँजी) को अभाव भएको राष्ट्र बैंक राष्ट्र ऋण विभागका प्रमुख तथा कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले बताए। ‘लगानीयोग्य पुँजी (तरलता) को कमी छ,’ उनले भने, ‘सोमबारसम्म ९ अर्ब तरलता अभाव भएको देखिन्छ।’

केन्द्रीय बैंकले लगानीयोग्य पुँजीको अभाव हुन नदिन मंगलबार २० अर्ब पैसा बजारमा छाड्ने भएको जानकारी पनि राष्ट्र बैंक, राष्ट्र ऋण विभागका प्रमुख पंगेनीले बताए। ‘यो रकमले तरलता अभावलाई केही हदसम्म समाधान गर्नेछ,’ उनले भने, ‘विस्तारै तरलताको अभाव हटने छ।’
बैंकहरुले आक्रमक रुपमा ऋण प्रवाह गरेका कारणले पनि तरलताको अभाव भएको विज्ञहरुको भनाइ छ। कर्जाको बढ्दो माग र निक्षेप संकलनमा आएको सुस्तताले बैंकलाई समस्या परेको नेपाल बैंकर्स संघको भनाइ छ। ‘अप्ठेरो स्थितिमा छौं,’ एक बैंकरले भने, ‘यो स्थितिको समाधान नगर्ने हो भने जटिल अवस्था आउने निश्चित छ।’ लगानी गर्न बैंकमा रकम अभाव भएको छ। ‘ऋण बढाउन बैंक असक्षम छन्,’ उनले भने, ‘ऋण लगानी गर्न नसक्दा बैंकको नाफामा पनि असर पर्नेछ।’नागरिक न्युजबाट

Next Post

‘अमेरिका पहिलो’ नीतिपछि विश्वको नेतृत्व चीनले गर्ने

११ माघ २०७३, मंगलवार ०६:४९
बेइजिङ–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो भाषणमा ‘अमेरिका पहिलो’ नीति अपनाइने बताएपछि आवश्यक परेको अवस्थामा चीन विश्वको नेतृत्व गर्ने अवस्थामा पुगेको छ। वरिष्ठ चिनियाँ वरिष्ठ राजनीतिज्ञले सोमबार चीन विश्वको नेतृत्व गर्न इच्छुक नभएको तर अमेरिका आफ्नो नीतिमा परिवर्तन गर्छ भने चीन विश्वको नेतृत्व दिन तयार रहेको बताए। चिनियाँ विदेश मन्त्रालयका अन्तर्राष्ट्रिय […]