कालिकोट-रास्कोट नगरपालिका १ का कलेन्द्र शाही रोजगारीका लागि भारत गएको एक बर्ष भयो । उनले दशैँको वेला घरमा आउने श्रीमतीसँग बचन दिएका थिए । तर, सोचेजस्तो कमाइ नभएपछि उनि दशैँमा घर फर्किएनन् । दशैँको मुखमा श्रीमानको बाटो कुरेर बसेकी उनकी श्रीमती भद्रा शाहीको अनुहारमा खुसी छैन् । एक छोरा र एक छोरी पालनपोषण गरेर घर धानेकी भद्रालाई श्रीमानको मायाले सताइ रहन्छ ।
प्रविणता पत्र तह ( प्लस टु) उत्तिर्ण गरेका कलेन्द्रले आफ्नो मार्कसिट बाकसमा राखेर भारत गएका हुन् । गाउँमा रोजगारको माध्याम नभएपछि श्रीमान् भारतको हिमाचल गएका हुन् । ‘श्रीमान्सँगै वस्न रहर किन नहुनु । गाउँमा वेरोजगार वस्नुभन्दा छोराछोरीको भविष्यको लागि पनि घर छोड्नु पर्ने बाध्यता भयो ।’ भद्राले भनिन्, ‘मेरो श्रीमान मात्र होइनन् गाउँका धेरै युवा वेरोजगार भएपछि भारत गएका छन् । गाउँलेले काम गर्ने अहिले नगरपालिकाको डोजरले काम गरिरहेको छ । डोजर कै दिन खुलेका छन् ।’ नगरपालिकाले आफै डोजर लगाएर गाउँको बाटो बनाउन थालेको छ । रास्कोटका कलेन्द्र शाही रोजगार खोज्दै भारतको हिमान्चल गएको त एक प्रतिनिधि मुलक उदाहरण मात्र हो । यस्तै रास्कोटका हजारौं युवा बेरोजगारले तड्पीए पछि खाडी मुलुक र भारतको कालापहाड गएका छन् । दशैँ सकिए लगत्तै भारत जानेको लर्काे लागेको छ । गाउँमा रोजगार नपाएपछि अधिकांस गाउँलेहरु भारत जान बाध्य भएका छन् ।
गाउँ खाली हुँदै
रास्कोट नगरपालिका १ का अर्का युवा चमन विकले भर्खरै विवाह गरेका थिए । बिहेपछि उनले श्रीमतीबीचको पिरती गहिरिन नपाउँदै उनीहरूबीच केही महिनाका लागि बेरोजगारले बिछोडीनु पर्ने बाध्यता आयो । चमनलाई रोजीरोटीका लागि भारत जानुपर्ने बाध्यता भएपछि उनको श्रीमतीलाई मन थाम्न मुस्किल भएको छ । खेतीपातीको समय सकिएपछि यतिबेला भारत जाने युवाको लर्को लागेको छ । भर्खरै बिहे गरेका श्रीमती, बुढापाका, आमाबुबा र कलिला छोराछोरीलाई छोडेर सयौं पुरुष कामको खोजीमा भारत लागेका छन् । गाउँ नै खाली हुने गरी युवा भारत जान लागेका छन् । बेरोजगारको चपेटामा परेका सयौं युवा भविष्यको खोजीमा बर्षेनी यसरी भारत जान्छन् । जानेमध्ये कतिपय नौला छन् भने अधिकांश खेतीपाती गर्न घर आएका हुन्छन् । ‘खेतीपाती सकेर फेरि भारत जान लागेका छौं’, रास्कोट नगरपालिका १ का कमल बहादुर शाहीले भने, के गर्ने, सानो खेत भएकाले त्यसैले परिवार पाल्न सकिँदैन, भारतकै जागिरले परिवार पालिरहेको छु ।’
खेतीपाती सकेर युवा भारत गएपछि गाउँ रित्तो हुन थालेको स्थानीयले बताए । यहाँका युवा भारतमा चौकीदारी, घरेलु काम, कम्पनी तथा होटलमा मजदुरी गर्छन् । औसतमा वाषिर्क एक जनाले ६० र ६५ हजार भारु कमाउने भए पनि घर फकिँदा उनीहरूका हातमा २० र ३० हजार रुपैयाँसम्म मात्र बच्ने गर्छ ।
जुगाँ हेरेर रोजगार
स्थानीय तहका जनप्रतिनिधि आएपछि गाउँमा झनै बेरोजगार मौलाएको मानवअधिकारकर्मी दमनराज बमले बताए । उनले भने, ‘पहिला र अहिलेको शासन सत्ता फरक छ । मानिसको योग्यता क्षमता र दक्षताको आधारमा रोजगार मिल्थ्यो अहिले जुगाँ हेरेर रोजगार दिने चलन आएको छ । त्यसैले गर्दा युवा भारत पलायन भएका हुन् ।’ हाल स्थानीय तहमा डोजरलाई मात्र रोजगार भएको छ । उपभोक्ता समिति नामका मात्र छन् । उपभोक्ता समितिमा पनि आफन्त र पहुँचवालाको मात्र हालीमुहाली छ ।
जिल्लाभरी स्थानीय तहमा डोजरको व्यापक प्रयोग भए पनि जनशक्ती शुन्य प्रयोग भएको छ । तर, जनशक्ति प्रयोग भएको विल भपाई र डोरहाजिर मिलाएर रकम भुक्तानी दिने गरिएको छ । विगतको तुलनामा स्थानीय तह आएपछि झनै वेरोजगारले गाउँ पिरलिएको छ । एउटा स्थानीय तहमा ३ देखि ४ वटा डोजरले काम गर्ने गरेका छन् । तर, ति डोजर चलेका गाउँका अधिकांस स्थानीय भारत जाने गरेका छन् । गाउँमा कुनै पनि आयास्रोत नभएपछि स्थानीय विदेशिनु पर्ने बाध्यता छ ।
हचुवाको भरमा डोजर प्रयोग
जिल्लाका अधिकांस स्थानीय तहले हचुवाको भरमा डोजर प्रयोग गरेका छन् । गत वर्ष डोजर लगाएर खोलेका ट्रयाक अहिले पहिरोमा परिणत भएका छन् । वातावरणीय प्रभाव मुल्याकंन नगरी यसरी गाउँका सडकमा डोजर आतंक गरिएको छ । डोजरले स्थानीयको जग्गा मिचेको राहत समेत पाएका छैन् । कालिकोटका ९ स्थानीय तह मध्ये ३ नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । जसमा पावर र पहुँचवालाको हालिमुहाली मात्र छ । जनप्रतिनिधिले गर्दा युवा वेरोजगार हुनु परेको स्थानीय काली विक्रम शाहीले बताए ।