ऊर्जामन्त्री पुन पुगे मौसम विभागको निरीक्षणमा, होला त क्षेत्र विस्तार ?

२२ श्रावण २०७५, मंगलवार १८:४६

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मंगलबार जल तथा मौसम विज्ञान विभागको अवलोकन भ्रमण गरेका छन् । जलवायु तथा मौसम पूर्वानुमानका क्षेत्रमा भइरहेका कामलाई थप विस्तार गर्ने उद्देश्यले मन्त्री पुनको विभागमा भ्रमण भएको हो । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमै रहेको भवनमा पुगेर मन्त्री पुनले त्यहाँको काम–कारबाहीबारे जानकारी लिनुका साथै विभागका कर्मचारीसँग अन्तरक्रिया समेत गरेका थिए । उक्त विभागमा मन्त्रीको भ्रमण भएको यो पहिलो पटक हो ।

 भ्रमणका क्रममा उनले मुस्ताङको जोमसोम र हुम्लाको सिमिकोटमा मौसम पूर्वानुमान केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।  यसअघि देशका ५ विकास क्षेत्रमा पूर्वानुमान शाखा रहेका थिए ।

 यसको क्षेत्र विस्तार गर्दै निजी र व्यवसायिक क्षेत्रलाई समेत सेवा दिने गरी काम गर्न पनि मन्त्री पुनले निर्देशन दिए । उनले  प्राविधिक जनशक्ति,सेवा विस्तार र बजेटको लागी आफुले सहयोग गर्ने बताए ।

मन्त्री पुनले हवाई सेवाका लागी मौसमी पूर्वानुमान अनिवार्य भएको भन्दै यसलाई अझै प्रभावकारी बनाउन निर्देशन दिए । उनले  त्यसका लागी आफूले सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले यसको व्यवस्था तथा सुरक्षा उपाय अपनाउन पनि केन्द्र जरुरी रहेको मन्त्री पुनको भनाइ छ ।  विभागले २०२५ सालदेखि मौसम पूर्वानुमानको काम गर्दै आएको छ ।

Next Post

2075-04-23

२२ श्रावण २०७५, मंगलवार १८:४६