पार्टीकाे आन्तरिक जीवनमा भावनात्मक एकता जरुरी

गोरख बोगटी ५ जेष्ठ २०७८, बुधबार २०:४४

साविकका दुई पार्टी (एमाले र माओवादी केन्द्र) बीचको एकताबाट निर्माण भएको नेकपा भित्र शीर्ष तहमा रहेका केही नेताका व्यक्ति विशेषका स्वार्थसिद्धिका समस्याले चरम रुप लिएको परिणाम स्वरुप तत्कालीन पार्टीबीचको एकता भङ्ग हुने अवस्थामा पुगेको विषय हामी सबैलाई घाम जत्तिकै छर्लङ्ग छ । तत्कालीन पार्टीभित्रको उक्त अवस्था कायम रहेकै बेलामा सर्वोच्च अदालतको फैसला अनुसार साविकका दुवै पार्टी पूर्ववत् अवस्थामा स्थापित हुन पुगेको विषयमा पनि कसैलाई अलमल छैन होला ।

यस्तो परिघट्नाबाट नेकपा (एमाले) पूर्ववत अवस्थामा स्थापित भइसकेको अवस्थामा यसको आन्तरिक जीवनलाई मजबुत बनाई एकताबद्ध एमालेको परिचयसहित शीघ्रातिशीघ्र देशव्यापी रुपमा साङ्गठनिक, राजनीतिक, सामाजिक तथा जनहितको कार्यहरुमा जुट्नुपर्ने आवश्यकता हो । यसैमा एमालेका नेता, कार्यकर्ता तथा सिंगो मुलुकको भविष्य जोडिएको कुरा पनि सबैलाई स्पष्टै छ । तर बिडम्वना ! हाम्रो पार्टीभित्रको आन्तरिक विवादले चर्को रुप लिई पार्टी एकतालाई कमजोरमात्र बनाएन कि पार्टीलाई विभाजनकै डिलमा पुर्‍याएको अवस्थाले एमालेका निष्ठावान कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा जनतामासमेत निरासा पैदा गरेको थियो ।

यसैबीचमा केहीदिन अघि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आपसी छ्लफल भई पार्टी एकतालाई कायम राखी यसलाई अझ बलियो बनाउने सहमति भयो । सो सहमतिलाई कार्यरुप दिनका लागि उहाँहरुकै सहमतिले कार्यदल निर्माण भयो । कार्यदलले आफ्नो कार्य प्रारम्भ गरिसकेको पनि देखिन्छ । यो विषयले अहिले आम कार्यकर्तामा एकहदसम्म आशा पलाएको र खुशी पैदा गरेको पाइन्छ । कार्यदलले पार्टी एकतालाई बलियो बनाउने उपाए पहिल्याउने छ भन्ने कुराको आशा गरिएको छ ।

यतिबेला अब कुनै पनि बहानामा पार्टीभित्रकै कोही कसैबाट पार्टी एकतालाई कमजोर बनाउने क्रियाकलाप नहोउन् भन्ने चिन्ता र चासो आम कार्यकर्तामा रहेको पाइन्छ । अतः यो बेलामा एमालेका नेता तथा कार्यकर्ता हामी सबै अत्यन्त संयमित भई विगतमा आफूबाट भएका कमिकमजोरीलाई आत्म समीक्षासहित महसुस गर्ने हिम्मत गरौं । विगतका तिक्तता तथा एकअर्कोप्रतिका आग्रह-पूर्वाग्रह भुलौं । हामी जो कोही आत्मकेन्द्रित सोचाई तथा चिन्तनबाट टाढा रहन सकौं । पार्टीको शीर्ष नेतृत्वबीच भावनात्मक एकता कायम गर्न गराउन तथा पार्टी एकतालाई मजबुत बनाउन आ-आफ्नो ठाउँबाट हमी सबैले सक्दो सकारात्मक भूमिका खेलौं । हामी सबै पार्टीको अनुशासनमा बसौं । पार्टी विरोधी गतिधिधीमा कोही नलागौ–नलगाऔं ।

अबका दिनमा जो कोहीले पनि आफ्ना लेखाइ तथा बोलाइबाट पार्टीभित्रकै अर्को कमरेडलाई होच्याउने, खुइल्याउने, मानमर्दन गर्ने, मनोविज्ञानमा नकारात्मक असर पार्ने खालका क्रियाकलाप बन्द गरौं । आइपरेका विभिन्न समस्याहरुका बारेमा कमिटी प्रणालीबाट खुलमखुलस्त छलफल गरी हल गर्ने विधिलाई सबैले लागू गरौं । यसो गर्न सके एकताबद्ध एमाले बनाउन कसो नसकिएला ?
बोगटी एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष हुनुहुन्छ ।

Next Post

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का

५ जेष्ठ २०७८, बुधबार २०:४४
लम्जुङ –  गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा […]