नरहरिनाथ गाउँपालिकामा काँग्रेसको भोटे ताला

१६ आश्विन २०७५, मंगलवार १८:२८

कालिकोट– जिल्लाको नरहरिनाथ गाउँपालिकाको सम्पर्क कार्यालयमा ताला बन्दि गरिएको छ । नेपाली काँग्रेस कालिकोटले कार्यालयमा ताला लगाएको हो । गाउँपालिका प्रमुख धिरबहादुर बिष्टले विकास निर्माणमा समन्वयकारी भुमिका नगरी एकलौटी रुपमा शासन लादेको भन्दै कार्यालय घेराउ गर्दै ताला बन्द गरिएको छ । नरहरिनाथ गाउँपालिकामा कर्मचारी नियुक्ति, योजना बाँडफाँड, उपभोक्ता समिति गठन प्रक्रियालगायतका काममा आफ्ना आशेपासेलाई भर्ति गरेको काँग्रेसले आरोप लगाएको छ । गाउँपालिका जनप्रतिनिधिले गरेका नराम्रा कामको खबदारीका लागि गत भदौ ३१ गते १६ बुद्धे असहमति पत्र काँग्रेसले पेश गरेको थियो । उक्त असहमतिलाई समझदारी नगरी झनै वेवास्ता गरेको तत्कालीन स्थानीय चुनावमा अध्यक्ष पदबाट पराजित भएका मिनबहादुर बोगटीले   बताए ।

परानै उपभोक्ता नियुक्ती

मंगलबार तालाबन्दीपछि नेपाली काँग्रेस कालिकोटले पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा ताला लगाउनुको मुख्य काराण गाउँपालिकामा लागु भएका प्रत्येक योजनामा अनियमितता गरेको आरोप लगाइएको छ । गत आर्थिक बर्षमा लागु भएका योजना पुरा नभएको चौतर्फी गुनासो छ । तर, गाउँपालिकाको गाउँ कार्य समितिले पुराना उपभोक्तालाई नै पुनः जिम्मेवारी देखिएको छ । सडक निर्माणका लागि जनशक्ति प्रयोग नगरि डोजरलाई मोटाउने काम गरिएको आरोप लगाइएको छ । गाउँपालिले तिन ठुला सडक योजना निर्माण गर्दा तत्कालीन एमाले र माओवादीका नेता कार्यकर्ताललाई उपभोक्ताको जिम्मा गाउँपालिकाले दिएको भन्दै काँग्रेसल विरोध गरेको छ ।

नेपाली काँग्रेसलाई विकास निर्माणबाट पाँखा लगाएर एकलौटी राज गरिएकाले ताला लगाउन बाध्य पारिएको नेपाली काँग्रेस कालिकोटका प्रबक्ता नगेन्द्र बिष्टले बताए । गाउँपालिका अध्यक्ष र गाउँ कार्य समितिले शिक्षा ऐन अध्ययन नगरेर काम गरेको छ । राहत दरबन्दीलाई अस्थायी र अस्थायी दरबन्दीलाई राहतमा मिलागरेको बताइएको छ । कानुनलाई लात हान्ने काम गाउँपालिकाले गरेको काँग्रेसका जिल्ला सहसचिव दमन शाहीले बताए ।

गत आर्थिक बर्षमा गरिएका कामको सार्वजनिक सुनुवाइ गरिनु पर्ने, गाउँपालिकाले लागु गरेका ऐन राजपत्रमा प्रकाशित गरिनु पर्नेलगायतका १६ बुद्धे असहमति पत्र काँगेसले गाउँपालिकालाई बुझाएको थियो । पत्र बुझाएको १५ दिन वितिसक्दा पनि गाउँपालिकाले वेवास्ता गरेको काँग्रेस नेता कार्यकर्ताले असन्तुष्टी जनाएका छन् । १६ बुद्धे माग पुरा नभएसम्म ताला नखोल्ले काँग्रेसले बताएको छ । गाउँपालि अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधि गाउँपालिकामा गएका छन् । यता सदरमुकाममा रहेको सम्पर्क कार्यालयमा भने ताला लागेको छ । कार्यालयमा रहेको लेखापाल हिरा बोहोराले १६ बुद्धे असहमति पत्रमा गाउँपालिकाले हेरफेर नगरेकाले ताल लगाउँछौ भन्दा आफु काम गरि रहेको अवस्थामा कार्यालय बाहिर आएको बताए ।

ठुलो बजेट अनियमितताको आरोप

गाउँपालिका अध्यक्षले आफू निकटका उपभोक्ता समिति बनाएर ठुलो रकम अनियमिता गरेको आरोप नेपाली कांग्रेस कालिकोटका प्रवक्ता नगेन्द्र विष्टले लगाए । ‘एकलौटी रुपमा आफु निकटलाई उपभोक्ता समिति बनाएर अनियमिता भएको छ ।’ उनले भने, ‘आर्थिक अनियमिताको बिषयमा चासो राख्दा गाउँपालिका कुनै प्रतिक्रिया नदिएका कारणले तालाबन्दी गरेका हौँ ।’ लालिघाटदेखि गाउँपालिका जाने सडक र खुलालु–माल्कोट हुदैँ कुमालगाउँ जाने सडक निर्माणमा ६ करोड रुपैयाँ अनियमिता भएको दाबी गर्दै उनीहरूले रकम फिर्ता गर्न माग गरेका थिए ।
नरहरिनाथ गाउँपालिकाका निर्माण ब्यवसायी संघका अध्यक्ष ध्रुबबिक्रम शाहीले पनि अनियमितता भएको रकमको विषयमा प्रष्ट नपारेको कारण तालावन्दी भएको बताए ।

रिसले ताला लगाए : अध्यक्ष विष्ट

गाउँपालिकाले तिब्र रुपमा विकास निर्माणका काम गरेकाले कांग्रेसले रिसका कारणले सम्पर्क कार्यालयमा तालाबन्दी गरेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताएका छन् । आफूहरुले अनियमिता नगरेको र उपभोक्ता समितिलाई प्राबिधिक इस्टमेटका आधारमा बिल भुक्तानी गरेको आधारहिन आरोप लगाएकै कारणले गाउँपालिकाको कार्यालयमा तालाबन्दी नगरेर सम्पर्क कार्यालयमा तालाबन्दी गरेको गाउँपालिका अध्यक्ष विष्टले बताए । ‘हामीले उपभोक्ता समितिलाई प्राबिधिक इस्टमेटकै आधारमा विल भुक्तानी गरेका छौँ ।’ उनले भने,‘आधारहिन आरोप लगाएर खाली प्रचारमा आउनका लागि तालाबन्दी गरेका हुन् ।’

Next Post

नरहरिनाथ गाउँपालिकामा लगाएको ताला प्रहरीले खोल्यो

१६ आश्विन २०७५, मंगलवार १८:२८
कालिकोट– जिल्लाको नरहरिनाथ गाउँपालिकाको सम्पर्क कार्यालयमा लगाएको ताला प्रहरीले खोलोको छ । नेपाली काँग्रेस कालिकोटले मंगलबार जिल्ला सदरमुकाम मान्मको सम्पर्क कार्यालयमा ताला लगाएको थियो । गाउँपालिका प्रमुख धिरबहादुर बिष्टले विकास निर्माणमा समन्वयकारी भुमिका नगरी एकलौटी रुपमा शासन लादेको भन्दै कार्यालय घेराउ गर्दै ताला बन्द गरेका थिए । मंगलबार साँझपखका वेला […]