सरकार थिति र विधिमा चल्छ, कसैको लहड र जिद्दीमा होइन : प्रम ओली

२७ असार २०७५, बुधबार १८:३९

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताएका छन्।

“सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो बनाउने छु,” उनले भने, “म दाग र धब्बारहितरुपमा काम गर्छु, भ्रष्टाचार अनियमितता शब्द सुन्न पनि सक्दिन, सुशानको नयाँ इतिहास रचना गर्छु, राष्ट्र निर्माणको महाअभियानमा सरकार जुटेको छ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई बुधबार अर्पण गर्दै प्रधानमन्त्री ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताउँदै कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो गर्दैन् भने।

सरकार सबै राजनीतिक दललाई साथ सहयोग लिइ विश्वासमा चल्ने बताउँदै उनले सामाजिक न्याय र समानतासहितको समाजवादी लोकतन्त्रले मात्र विपन्न जनताको जीवनस्तरमाथि उक्लिने धारणा व्यक्त गरे। प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता भोकै र नाङ्गै पर्नु हुँदैन, यसमा सरकार सचेत छ भने। “जीवनभर लोकातन्त्र ल्याउन लड्ने व्यक्ति र पार्टी जनताको दिएको आदेशअनुसार प्रधानमन्त्री हुँदा कसरी लोकतन्त्र खतरामा पर्छ ?” उनले प्रश्न गरे।

प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्री पद सम्हालेको दिनदेखि नै आलोचना समालोचना हुन शुरु गरेको उल्लेख गर्दै स्वच्छ आलोचनादेखि आफू नडराउने र नतर्सिने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले नेपाल र भारत, नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै छिमेकीसित नयाँ सम्बन्ध स्थापित भएको बताए।

युवालाई प्रोत्साहन र पाकालाई सम्मान सरकारले गर्ने चर्चा गर्दै उनले विसं २०५१ मा आफू मन्त्री हुँदा शुरु भएको स्रष्टा सम्मान कार्यलाई विस्तारसमेत गरिएको जानकारी दिए। प्रधानमन्त्री ओलीले कला, साहित्य, भाषाले देशको समृद्धिलाई सहयोग गर्ने चर्चा गर्दै भाषा, संस्कृति, कला देशका ऐना हुन् भने

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य पूरा गर्ने ध्येय मन्त्रालयको छ भने।  “प्रतिपक्षलाई पेलेर होइन, साथ र सहयोग लिएर सरकारले काम गर्छ,” उनले भने। रासस

Next Post

2075-03-20

२७ असार २०७५, बुधबार १८:३९