योजनाको सूची बोकेर कर्णालीका मुख्यमन्त्री र नेताहरु काठमाडौंमा

२७ बैशाख २०७५, बिहीबार ०७:३२

काठमाडौं– कर्णाली सरकार र राजनीतिक दलका नेताहरुले कर्णालीको द्रुत विकासको लागि न्यायोचित बजेट व्यवस्थापन गर्न केन्द्र सरकारसँग माग गरेका छन् । ज्ञापनपत्र बुझाउँदै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेताहरुले ठूला आयोजनाहरु निर्माण नहुँदासम्म कर्णालीको विकास नहुने भन्दै कर्णालीलाई न्यायोचित रुपमा बजेट दिन माग गरे ।दर्जनौ योजनाहरुको सूचीसहित बजेट माग गर्दै उनीहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

पूर्वगृहमन्त्री जनार्दशन शर्मा, पूर्वमन्त्री यामलाल कंडेल, पूर्वमन्त्री जीवनबहादुर शाहीसहित प्रधानमन्त्रीलाई भेटेका मुख्यमन्त्री शाही र आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले कर्णाली सरकारको प्राथमिकताका योजनाको सूचीसमेत बुझाए ।

जसमध्ये बस्ती विकासतर्फ दुई लाख घरधुरीलाई एकीकृत बस्तीमा बदल्न बजेट माग गरिएको छ । यस्तै भौतिक पूर्वाधारतर्फ कर्णाली द्रूतमार्ग (जमुनाहा-चंखेली-हिल्सा), कर्णाली र भेरी करिडोरका सडकलाई दुई लेन बनाउने, तेलपानी-भुरीगाउँ-सुर्खेत सुरुङमार्ग निर्माण, नाक्चेलाङ्गना दुईदेशीय सडक नाका निर्माण, मरिम-धो-सुर्खेत दुईदेशीय सडक नाका निर्माण, दाङ-सुर्खेत-दिपायल सडक निर्माणका लागि बजेट ब्यवस्थापन गरिदिन माग गरिएको छ ।

कर्णालीमा ऊर्जाको सम्भाव्यता अधिक भएकोले जलविद्युत उत्पादनका लागिसमेत केन्द्र सरकारले उच्च प्राथमिकताका साथ बजेट छुट्याउनु पर्ने माग गरिएको छ ।

कर्णाली प्रदेशका सबै जिल्लामा केन्द्रीय प्रशारण लाइन जोड्ने, कर्णाली करिडोर र भेरी करिडोरमा ४०० केभीएको प्रशारण लाइन निर्माण गर्ने, सुर्खेत-हुम्ला १३२ केभीए प्रसारण लाइन निर्माण गर्ने, ग्यास र यूरेनियम खानीको सम्भाव्यता अध्ययन गर्नका लागि समेत बजेटको ब्यबस्थापन गरिदिन आग्रह गरिएको छ ।

यस्तै संचारतर्फ प्रदेशका सबै स्थानीय तहहरुमा फोरजी नेटवर्कसहितको मोवाइल सेवा उपलब्ध गराउने, कांक्रेविहार-शेफोक्सुण्डो-डोल्पो-रारा-हिल्सा पर्यटकीय सर्किट निर्माणका लागि पर्यटकीय पुर्वाधार निर्माण गर्ने, रारालाई कर्णाली पर्यटकीय राजधानी निर्माण गर्ने, प्रदेश राजधानी सुर्खेतमा २ हजार क्षमताको आधुनिक सभाहल निर्माण गर्ने योजनाका लागि पनि बजेट माग गरिएको छ ।

यस्तै सुर्खेतमा अन्तर्राराष्ट्रिय विमानस्थल निर्माण गर्न, हुम्लामा विमानस्थल निर्माण गर्न, भेरी सिञ्चाइ आयोजना -रुकुम, जाजरकोट, सल्यान र सुर्खेत) संचालन गर्न पनि केन्द्रबाट नै बजेटको व्यबस्थापन हुनपर्ने माग उनीहरुको छ ।

बजेट माग गरिएका अन्य योजनाहरु

– तामा, फलाम खानी उत्खनन्को लागि सर्भे गर्ने ।

– सुर्खेत र सल्यानमा तीनवटै तहका सरकार, स्थानीय जनता, र निजी क्षेत्रको संयुक्त लगानीमा सिमेण्ट उद्योग स्थापना गर्ने ।

– कर्णाली प्रदेशमा रहेका ३०२० वटा सामुदायिक विद्यालयका सबै कक्षाहरुमा डीजीटल वोर्ड उपलब्ध गराउने ।

– ७३ जना डाक्टरसहित हरेक स्थानीय तहस्तरमा ल्याबसहितको स्वास्थ्य संस्था निर्माण गर्ने ।

– कर्णालीका कृषि उपजहरुको मूल्य निर्धारण गरी सरकारले खरिद गर्ने व्यवस्था गर्ने ।

– जुम्लालाई स्याउ हव निर्माण गर्ने ।

– कर्णालीका अर्गानिक कृषि उपजहरुको मूल्य निर्धारण गरि सरकारले उत्पादित क्षेत्रमै खरिद गर्ने व्यवस्था गर्ने ।

– कर्णाली प्रदेशका ५ लाख युवाहरुलाई उद्यमी वनाउन ३ देखि ६ महिनाको सीपमुलक तालिम र १० लाख सहुलियत ऋण व्यवस्था गर्ने

– कर्णालीका १० वटै जिल्लामा विद्यालय तहसम्म १/१ वटा आवासीय विद्यालय निर्माण गर्ने ।

–  कर्णाली प्रदेशमा जडीवुटी शिक्षण तथा प्रशोधन केन्द्र स्थापना गर्ने ।

– हरेक स्थानीय तहमा १/१ वटा प्राविधिक विद्यालय खोल्न आवश्यक वजेट व्यवस्था गर्ने ।

– प्रदेश राजधानी सुर्खेतमा भेरी लिफ्टिङ्ग खानेपानी आयोजना निर्माण गर्ने

Next Post

मोदीका प्रतिवद्धता : कति पूरा, कति बाँकी

२७ बैशाख २०७५, बिहीबार ०७:३२
काठमाडौं – नेपाल भ्रमणका क्रममा चार वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा नेपाली भाषामा सम्वोधन गर्दा उनको निक्कै चर्चा भयो। अझ संसदमा भाषणको क्रममा उनले बुद्ध नेपालमा नै जन्मिएका हुन् भनिदिए।  त्यस बखत भारतीय पक्षले शान्तिका प्रतिक गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेको थियो। तर, भारतीय प्रधानमन्त्री मोदीले नेपालमा नै जन्मिएको […]