गाडी चढ्दैमा अधिनायकवादी भइदैनः प्रधानमन्त्री ओली

१५ असार २०७५, शुक्रबार १६:२४

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको बताएका छन्।

प्रतिनिधि सभामा बजेट माथि भइरहेको छलफलमा उठाइएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले विभागलाई प्रभावकारी बनाएर देशको हितमा काम गराउन अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहत ल्याइएको बताए ।

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएपछि, प्रधानमन्त्री अधिनायकवाद उन्मुख भएको भन्दै सांसदहरुले विरोध गरेका थिए।

अधिनायकवाद लाद्न खोजेको भन्ने प्रसंगमा प्रधानमन्त्री ओलीले लोकतन्त्र ल्याउन निकै संघर्ष र बलिदानी गरेको स्मरण गर्दै भने, ‘अहिले लोकतन्त्र जान्छ भन्ने शंका छ। लोकतन्त्र कहाँ जान्छ? अनी के आउँछ? लोकतन्त्र जान्छ भन्नु केटाकेटीलाई हाउगुजी देखाए जस्तै हो।’

ठट्यौली शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले भने, ‘‘प्रधानमन्त्री गाडिमा चडेर हिड्छ, यो अधिनायकवादको खतराको संकेत हो भनेको पनि सुनिन्छ। अनी केमा जाने त? काँस्किकोटका राजा गाडि चढ्दैनथे। गोरखाका राजा पनि गाडि चड्दैनथे। गाडि कहाँबाट चढ्नु त्यहाँ घोडा जान्थ्यो। के हामी त्यतै जान खोजेका त होइनौं।’

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा प्रधानमन्त्री एवं मन्त्रीपरिषद कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिएका थिए ।

प्रधानमन्त्री ओलीले अर्को प्रसंगमा संविधान संशोधित दस्तावेज भएको बताउँदै देशको आवश्यकता, समयको माग र जनताको चाहना अनुसार संशोधन हुन सक्ने बताए।

प्रधानमन्त्रीको जवाफसँगै विनियोजन विधेयक (बजेट) माथिको छलफल आजै सकिएको छ । बजेट पारित गर्ने क्रममा विधेयक माथि राखिएका विभिन्न संशोधन प्रस्ताव अस्वीकृत गर्दै बजेट र यससँग सम्बन्धित अन्य विधेयकहरु पारित गर्ने प्रक्रिया अहिले प्रतिनिधि सभामा जारी छ । सत्तारुढ दलको बहुमत भएकाले दर्ता भएका सबै खर्च कटौतीका प्रस्ताव अस्वीकृत भएका छन्।

Next Post

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि डा. केसीको इमर्जेन्सीमा उपचार हुँदै

१५ असार २०७५, शुक्रबार १६:२४
काठमाडौं –  जुम्ला पुगेर अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर समस्या उत्पन्न भएपछि  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ। श्वासप्रश्वासमा समस्या आएपछि उनलाई प्रतिष्ठानको आकस्मिक कक्षमा लगेर उपचार गरिएको  केसीको उपचारमा संलग्न रहँदै आएका चिकित्सक डा. प्रवीण गिरीले बताए। उनले भने, ‘छाती दुख्ने तथा श्वास फेर्न धेरैनै गाह्रो भए पछि […]