काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि प्रक्रिया अघि बढाइसकेका त्रिभुवन विश्वविद्यालयका कलेजहरूमा बुधबार (फागुन १८) निर्वाचन हुने निश्चित भएको छ।
विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापामगरका अनुसार विश्वविद्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रक्रिया सुरु गरेका कलेजहरूमा फागुन १८ मा स्ववियु चुनाव हुन्छ । उनले त्रिविका कुल ६० आंगिक कलेजमध्ये चुनावी प्रक्रिया अगाडि बढाएका २३ वटामा बुधबार चुनाव हुने निश्चित भएको जनाए । जसमा उपत्यका ९ र उपत्यका बाहिरका १४ आंगिक कलेज छन् ।
थापाका अनुसार उपत्यकाका ललितकला क्याम्पस, सानोठिमी क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, जनप्रशासन क्याम्पस, मेडिसिन क्याम्पस महाराजन्ज, नर्सिङ क्याम्पस महाराजगन्ज, आयुर्वेद क्याम्पस कीर्तिपुर र भक्तपुर बहुमुखी क्याम्पसमा बुधबार चुनाव हुनेछ । यसैगरी उपत्यका बाहिरका पश्मिाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान, फुड एन्ड टेक्नोलोजी क्याम्पस धरान, भोजपुर बहुमुखी क्याम्पस भोजपुर, शिक्षा क्याम्पस सुर्खेत, वन विज्ञान क्याम्पस पोखरा, कृषि क्याम्पस सुन्दरबजार लमजुङ, कृषि क्याम्पस भैरवहालगायत १४ आंगिक कलेजमा बुधबारको चुनावका लागि प्रक्रिया पूरा भएको जानकारी थापामगरले दिए ।
‘विश्वविद्यालयले स्ववियु चुनावका लागि भनेरै २ महिना समय खर्च गरिरसक्यो,’ निर्देशक थापामगरले नागरिकसँग भने, ‘अब विश्वविद्यालयले चुनावबारे केही नयाँ निर्णय गर्दैन । ’ विश्वविद्यालय चुनावबाहेक अन्य महŒवपूर्ण काममा लाग्नुपर्ने बताउँदै उनले थपे, ‘चुनाव हुन नसकेका कलेजहरूमा कलेज प्रमुख र विद्यार्थी संगठनहरू मिलेर आफैं समयअनुकूल गराउन विश्वविद्यालयले निर्देशन दिएको छ ।’