तीन दशकपछि स्थानीयको जहाज चढ्ने सपना साकार

१ फाल्गुन २०७३, आईतवार ०७:५२

कालिकोट- कोटवाडा–३, का गणेशकुमार विष्ट ३६ वर्षका भए। उनी पाँच वर्षको हुँदा शिलान्यास गरिएको सुनथराली विमानस्थलमा शनिबार जहाज बस्यो। विष्ट शनिबार परीक्षण उडानका लागि आएको तारा एयरको विमान चढेर नेपालगन्ज गए। उक्त विमानस्थलमा जहाज बस्ने आस मारिसकेका विष्ट जहाजमा उडेर नेपालगन्ज पुग्दा मनमा खुसीको सीमा नै थिएन। विष्ट मात्रै होइन कालीकोटबासी सबै जहाज देख्न पाउँदै निकै हर्षित छन्। तारा एयरको ‘एननाइनएबिएम’ कलसाइनको टि्वनअटर विमान शनिबार एकाएक कोटबाडाको आकासमा आउँदा स्थानीय गद्गद् थिए। कोटवाडाम जहाज आउँदा वृद्धवृद्धाहरु लौरो टेकेर विमानस्थलमा आएका थिए।

कोटवाडा विमानस्थलमा वरिष्ठ चालक सन्तोष शाहले जहाज अवतरण गराएका थिए। एक हप्ताअघि विमानस्थल अवलोकन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनवहादुर शाहीसहितको प्राविधिक टोली हेलिकप्टरमा आएको थियो।

कोटवाडामा विमान हेर्न जिल्लाका लालु, माल्कोट, रुप्सा, कुमालगाउँ, रकु लगायत आसपास गाविसबाट पाँच हजारभन्दा बढी सर्वसाधारण जम्मा भएका थिए। वर्षौंदेखिको जहाज हेर्ने सपना पूरा हुँदा सबैका अनुहारमा खुसी देखिन्थ्यो। जहाज ल्याउने चालक दलका सदस्यलाई स्थानीयले बाजागाजा, लालीगुराँसको फूल, देउडा र हुड्के नाचले स्वागत गरेका थिए।

कोटवाडा–३ का ६५ वर्षीया मृगा विष्टले भनिन्, ‘काम सुरु भएको ३० वर्षपछि आफ्नै घर अगाडिको चौरमा विमान बसेको देख्न पाइयो।’ पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कबहादुर विश्वकर्माको पालामा विमानस्थल सञ्चालनमा ल्याउन पाँच करोड बजेट विनियोजन गरे पनि स्थानीय दलद्वारा गठित उपभोक्ता समितिले भागबण्डा गरेर सकेको थियो। उपभोक्ता समितिले काम नगरेर रकम मात्र दुरुपयोग गरेको स्थानीयको गुनासो छ।

नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक राजकुमार क्षेत्रीले परीक्षण उडान सफल भएकाले नियमति उडानका लागि पहल भइरहेको बताउँदै एक हप्ताभित्र यात्रु चढ्न पाउने जानकारी दिए। विमानस्थल निर्माण आयोजनाका प्रमुख इन्जिनियर रत्नबहादुर श्रेष्ठले कर्णालीकै राम्रो विमानस्थल कालीकोटको भएको बताए। उनका अनुसार यो विमानस्थल लामो र फराकिलो छ। विमानस्थलको लम्बाइ ६ सय ९० मिटर र चौडाइ ४० देखि ६० मिटर छ।

विमानस्थल बनेपछि कालीकोटका लालु, माल्कोट, विशेषगरी, इलाका नम्बर ५ मा पर्ने रुप्सा, कुमालगाउँ लगायत सात गाविसका स्थानीयलाई आवतजावत र सामान ढुवानीमा सहज हुनेछ। कर्णालीका अन्य चार जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाबासीले हवाइ जहाज चढी सकेका छन्।

मानवीय क्षति पनि कम भएन

२५ करोड बजेट विमानस्थलमा खर्च भइसकेको आयोजनाले जनाएको छ। विमानस्थल निर्माणकै क्रममा मानवीय क्षति पनि निकै ठूलो भएको थियो। सशस्त्र द्वन्द्वकालमा स्थानीय सातजनासहित धादिङ, काभ्रे, सिन्धुली र रामेछापबाट काम गर्न आएका ३५ जना कामदारलाई तत्कालीन शाही नेपाली सेनाले माओवादी भन्दै हवाई आक्रमण गरी मारेको थियो। त्यसमा १७ जना धादिङ जोगीमाराका चेपाङ थिए। २०५८ को फागुनमा माओवादीले अछाम, सदरमुकाम मंगलसेन आक्रमण गरेपछि माओबादी खोज्दै आएको सेनाको हेलिकोप्टरले कामदारलाई गोली हानी मारेको थियो।

Next Post

एमालेभित्र ‘लाइन’ परिवर्तन गर्ने भीम रावलको संकेत

१ फाल्गुन २०७३, आईतवार ०७:५२
हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं प्रखर वक्ता भीम रावलले आगामी १० महाधिवेशनमा पार्टीभित्र ‘लाइन’ परिवर्तन गर्ने संकेत गरेका छन् । युवा संघले हेटौडामा आयोजना गरेको बृहत भेलामा प्रमुख अतिथिका रुपमा आएका पूर्व रक्षा, गृह र उपप्रधानमन्त्री रावलले आगामी महाधिवेशनमा ओली लाइनमा लाग्ने संकेत गरेका हुन् । ‘तपाईंहरु कुनै नेताको […]