आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री अाेली

६ कार्तिक २०७५, मंगलवार ११:०६

भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने बताएका छन्। आफ्नो सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो अवस्थामा रहेका कारण चालू वर्ष ज्येष्ठ नागरिक भत्ता बढाउन नसकेको उनकाे भनार्इ छ।

दसैंका अवसरमा नेकपा झापा जिल्ला कमिटीद्वारा बिहीवार बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रम ओलीले भने, “भनेजस्तो भएन भनेर ज्येष्ठ नागरिकलाई नरमाइलो लागिरहेको होला, आउँदो बजेटमा हामी भत्ता बढाइहाल्छौँ।”

देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउने आफ्नो मुख्य सङ्कल्प भएको उल्लेख गर्दै उनले जनताको अपेक्षा र विश्वासलाई तलमाथि पर्न नदिने बताउँदै प्रम ओलीले भने, “मैले कर्तव्य बुझेको छु, नाकमा कालो लाग्न दिन्नँ।”

ओलीले सरकार देश विकासको कामलाई द्रुत गतिमा अघि बढाउन तल्लिन रहेको बताए। “धुलो नउड्ने सडक बनाउनका लागि पनि सडकमा धुलो उडाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने, “दुईवर्ष भित्र काठमाडौंका सडक सफा भइसक्छन्।”

ओलीले समाज निर्माण र सञ्चालनमा चाडपर्वको महत्वपूर्ण भूमिका हुने बताए। नेपालको संयुक्त परिवार प्रणाली विश्व मै अनुपम रहेको र यसले आत्मीयताको नमुना पेश गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। “हाम्रा चाडपर्वले आपसी द्वन्द्वलाई निस्तेज पारेर आपसी सद्भाव कायम गरेका छन्” ओलीलले भने, “चाडपर्वमा दिइने आशिषबाट थाहा हुन्छ कि पुर्खाका पालामा नै समृद्ध नेपाल र सुखी नेपालीको कामना गरिएको थियो। त्यो कामना वर्तमान सरकारले पुरा गर्छ।”

Next Post

बिजुली बस चढेर प्रधानमन्त्री सरर सिंहदरबार

६ कार्तिक २०७५, मंगलवार ११:०६
काठमाडौं– साझा यातायातले आजबाट सुरु गरेको विद्युतीय बसमा चढेर प्रधानमन्त्री सिंहदरवार पुगेका छन्। सहरी यातायातमा ‘मास ट्रान्पोर्टेसन’लाई सरकारले प्रवर्दन गर्न थालेपछि सक्रिय भएको साझा यातायात प्रालिले काठमाडौंमा विद्युतीय बस सेवाको आजबाट शुभारम्भ गरेको थियो। पुल्चोकबाट प्रधानमन्त्री ओली, पर्यटनमन्त्री रवीन्द्र अधिकारीकाठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायत सिंहदरबार […]