पाँच वर्षभित्र सान्नी त्रिवेणीमा समृद्धि ल्याउँछौं : अध्यक्ष शाही

२४ श्रावण २०७५, बिहीबार १६:४४

कालिकाेट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका विकासका पुर्वाधारले विगतभन्दा केहि बदलिएको छ । धार्मिक स्थलको नामबाट नामाकरण गरिएको यस गाउँपालिकामा पर्यटनको दृष्टिकोणले राम्रो सम्भावना वाकेको छ । साविकका मुम्रा, मेहलमुडी र रकु गाविस मिलेर सान्नी त्रिवेणी गाउँपालिका बनेको छ । गाउँपालिकालाई पाँच वर्षभित्र विकास र समृद्धिले महुार फर्ने गाउँपालिकाले अठोट गरेको छ । पर्यटन, सडक,विद्युत, कृषि, शिक्षालगायतका विकास र समृद्धिका विषयमा आधारित मिसन न्युजले सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्वरबहादुर शाहीसंग गरेको कुराकानी प्रस्तुत छ ।

स्थानीय निर्वाचनमा जनतासँग गरेका प्रतिवद्धता लागु गर्नु भयो ?

मैले निर्वाचनमा गरेका प्रतिबद्धता विस्तारै पुराहुँदै आएका छन् । लामो समयपछि स्थानीय निर्वाचन भयो । बर्षौ बर्षसम्म विकासमा अधुरा रहेको जनताका सपना पुरा गर्ने प्रयासमै छु । जनतासँग मैले ठूलाठूला बाचा गरेको थिएन । तर, ग्रामीण सडक निर्माण, स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका विषयमा गाउँपालिकालाई विकास गर्ने बाचा गरेको थिए । त्यसैले मलाई जनताले विश्वास गरेर विजयी गराएका थिए । यहाँका नागरिकले म युवा भएका हैसियतले पनि केन्द्रदेखि स्थानीय तहसम्म राम्रो सम्बन्ध भएको नेताका रूपमा बुझेका थिए । युवा भएका कारण यसले नै गाउँपालिकामा विकासको पाइला निरन्तर अगाडी वढाउन सक्छ भनेर जनताले मलाई विजयी गराए हुन । अन्यभन्दा युवाहरूमा जनताको आशा र भरोसा धेरै हुने गरेका कारणले पनि मलाई जनताले चाहेका हुन् ।

चुनावमा दिएका आसवासन मध्ये केके पूरा गर्नु भयो ?

हाम्रो गाउँपालिका पर्यटन र कृषीमा निकै प्रचुर सम्भावना भएको गाउँपालिका हो । चुनावका बेला गरेका प्रतिबद्धताका आधारमा गाउँपालिकामा कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएका छौँ । गाउँपालिकालाई नमुना गाउँपालिकाका रूपमा विकास गर्नका लागि ‘सुन्दर र समृद्ध गाउँपालिका निर्माणको एक मात्र आधार जैविक कृषि उत्पादन, पशुपालन र जडिबुटीको माध्यमबाट निर्यातमुखी अर्थतन्त्रको विकास नै हाम्रो सशक्त अभियान’ सञ्चालन गरेका छौँ । यस क्षेत्रलाई पर्यटनको हवको रुपमा चिनाउने अभियान जारी रहेको छ । यस क्षेत्रका इतिहाँसकै पहिलो पटक विज्ञहरुको सहभागीतामा माटो परिक्षण गराएको छौ । कृषि क्षेत्रमा लगानी गरी उत्पादनमुखी बनाउने तयारी छ ।

विकासका लागि बजेटको प्राथमिकता केमा दिनु भयो ?

यहाँका जनताको मनोविज्ञान र आवश्यकतालाई मध्यनजर गर्दै सडकलाई पहिलो प्राथामिकता राखेर काम गरेका छौ । आर्थिक विकासको क्षेत्रमा गाँउपालिकामा उत्पादित कृषि र पशुजन्य उत्पादनले उचित स्थान नपाउँदा विकासको पहिलो आधार सडक भएकाले गाउँपालिका सडक सञ्जालमा जोड्ने क्रममा छौ । पहिलो आर्थिक वर्षमा करिव १५ किलोमिटर सडकको ट्रयाक खोलेका छौ । गाउँमा सडक नजोडिएकाले स्थानीय उत्पादनले राम्रो बजार पाउन सकेको छैन । सडक पूर्वाधारको राम्रो विकास गर्ने र लक्ष्यअनुसार यस क्षेत्रमा उत्पादित तरकारी, फलफूल तथा पशुजन्य उत्पादन दुग्ध र मासु उत्पादनले यस गाउँपालिकाका नागरिकहरूलाई व्यावसायिकतातर्फ उन्मुख गराउने लक्ष्य लिएका थियौँ । ती कामहरू पनि अगाडि बढेका छन् ।

आगामी पाँच वर्षभित्र गाउँपालिकालाई कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाएर निर्यात गर्ने लक्ष्य राखेका छौँ । कृषि, र गाउँपालिका भित्र करिब छ किलोमिटर हिमाली जंगललाई जंगली जनावर र पशुपंक्षीको बासस्थान बनाएर त्रिवेणी पाटनलाई पर्यटकीय गतव्य बनाउने र संरक्षित क्षेत्रका रूपमा विकास गर्ने गरी अगाडि बढेका छौँ । यिनै आधारमा हाम्रो गाउँपालिका समृद्ध हुन सक्छ । अन्य आधारहरू पनि खोजिरहेका छौँ । गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, महिला, बालबालिका, दलित, जनजाति, पिछडा वर्ग, विशेष क्षमता भएका नागरिक तथा ज्येष्ठ नागरिकहरूको उत्थान र विकासमा विशेष जोड दिएर काम गरेका छौँ ।

उनीहरूको क्षमता र सीपलाई आधार बनाएर विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै तथा योजनालाई अझ परिष्कृत गर्ने लक्ष्य लिएर काम र्गयौं। त्यसले सफलता पनि पाएका छन् । भौतिक पूर्वाधार विकासतर्फ गाउँपालिका क्षेत्रभित्रका सडकको ट्र्याक खोल्ने काम, गोरेटो, घोरेटो बाटो निर्माण गर्ने र सडकलाई मुख्य विकासको पूर्वाधार बनाउने सोचका साथ काम गरिरहेका छौँ । सडक सञ्जाल भएन भने यहाँ उत्पादन भएका वस्तुहरूको बजारीकरणमा समस्या हुने हुँदा त्यसमा विशेष जोड दिएका छौँ । सडक अहिले छवटा वडामा पुगिसकेको छ । बाँकी तीनवटा वडामा सडक अर्को आर्थिक वर्षमा र्पुयाउने लक्ष्य राखेका छौँ ।

गाउँपालिकाले पाँच वर्षका लागि कस्तो कार्य योजनाको तयारी गरेको छ ?

गाउँपालिकाको ९ वटै वडासम्म सडकले नछुँदासम्म सडक निर्माण लाई प्राथामिकतामा राखेर पाँच बर्षे रणनीतिक योजना बनाउने तयारी छ । कृषि व्यवसाय, पशुपालन, जडिबुटी उत्पादन र पर्यटन, उद्योग तथा व्यापारलाई सहयोग पुग्ने गरी सान्नी त्रिवेणी गाउँपालिकाको मेरुदण्डीय सडक रकु–मेहलमुडी–मुम्रा सडकको निर्माण गर्ने, जैविक कृषि उत्पादन क्षेत्र घोषणा गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकको नमुना गन्तव्य बनाउने, सबै वडा कार्यालयहरूलाई सडक सञ्जालले जोड्ने गरी यातायात गुरुयोजना तयार गर्ने, एक टोल एक उत्पादन अवधारणाअनुरूप राष्ट्रिय भूउपयोग नीतिअनुसार कृषि क्षेत्रमा जमिनको विभाजन गर्ने लक्ष्य लिएका छौँ । गाउँपालिकामा रहेको स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पतालको रूपमा विकास गर्ने तयारी रहेको छ । सबै विद्यालयहरूमा गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्ने लक्ष्यसहित अहिले ई–हाजिरीको सिस्टम विकास गरेका छौँ । त्यस्तै, प्राविधिक शिक्षा दिन प्राविधिक विद्यालयको स्थापना गरेका छौँ । खानेपानीमा सबैलाई स्वच्छ पिउने पानी र्पुयाउने अवधारणाअनुरूप सबै प्रत्येक टोलमा खानेपानी उपलब्ध गराउने, पूर्ण सरसफाइयुक्त गाउँ निर्माण गर्ने, बालमैत्री र वातावरणमैत्री गाउँ निर्माण, बालविवाह, छाउपडी र बालश्रममुक्त गाउँ घोषणा गर्ने लक्ष्य राखेर काम अगाडि बढाएका छौँ ।

सान्नी त्रिवेणलाई समृद्ध बनाउने आधार के के हुन ?

सान्नी त्रिवेणी भनेको पर्यटकिय क्षेत्रको नाममा नामाकरण गरिएकाले पहिलो विकास र समृद्धिको आधार पर्यटन हो । हाम्रो गाउँपालिका समृद्ध हुने आधार पर्यटन, सडक, स्थानीय उत्पाद र जडिवुटी हो । यसै आधारमा गाउँपालिकालाई समृद्धतफै उन्मुख हुन्छ । अनि अर्को आधार हाम्रो जलविद्युत हो । अहिले हाम्रो गाउँपालिका नै उत्पादन भएको पाँच सय किलोवाटको जलविद्युतले सदरमुकाम र एउटा नगरपालिकाका साथै गाउँपालिका केही ठाउँमा विद्युत बलेको छ । त्यसलाई जोगाई राख्नका लागि विशेष ध्यान दिएका छौँ । त्यस्तै, कृषि, र गाउँपालिकाभित्र करिब छ किलोमिटर हिमाली जंगललाई जंगली जनावर र पशुपंक्षीको बासस्थान बनाएर त्रिवेणी पाटनलाई पर्यटकीय गतव्य बनाउने र संरक्षित क्षेत्रका रूपमा विकास गर्ने गरी अगाडि बढेका छौँ ।

विकासका लागि चुनौती के महसुस गर्नुभएको छ ?

निर्वाचित भएको एक वर्षको अवधिमा काम गर्दा विभिन्न प्रकारका समस्या आएका छन्् । तिनलाई चिर्दै हामी विकासको गतिमा अगाडि बढेका छौँ । पहिलो चुनौती गाउँपालिकामा कर्मचारीको अभाव भएको छ । हाम्रो गाउँपालिकालाइ भुगोलले पनि ठगेको छ । भिरालो र चट्टाने पहाड भएकाले सडक निर्माणमा पनि समस्या थपिएको छ । तर, पनि विभिन्न चुनौतिलाई सामाना गर्दै विकासको गतिलाई निरन्तरता दिने अठोट गर्दछु ।

Next Post

नेकपाको केन्द्रीय कार्यालय धुम्बराही हुने, ६ सदस्यीय कार्यदल गठन

२४ श्रावण २०७५, बिहीबार १६:४४
काठमाडौं– नेकपाको केन्द्रीय कार्यालय धुम्बराहीमा हुने भएको छ । बिहिबार बसेको पार्टी हेडक्वार्टर बैठकले उक्त निर्णय गरेको हो ।  बैठकले पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक कार्यालयहरु रहने निर्णय गरेको छ । नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा निर्माण हुनुअघि धुम्बराहीमा एमाले र पेरिसडाँडामा माओवादी […]