चार महिनापछि भत्ता पाउँदा राउटे समुदायमा खुसीकाे सिमा रहेन

३१ बैशाख २०७५, सोमबार ०९:४५

दैलेख–चार महिनापछि राउटेले भत्ता पाएका छन् । भैरवी गाउँपालिकाले राउटे भत्ता नआएपनि आफ्नै श्रोतबाट राउटेलाई १० महिनाको भत्ता खुवाएको हो । यसअघि ६ महिनाको भत्ता खुवाएको थियो । अहिले राउटे बस्ती रहेको डुंगेश्वर गाउँपालिका –६ ज्यामिरे खेतमा बस्दै आएका छन् । राउटे बस्तीमा ४६ परिवार रहेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट राउटेका लागि भत्ता वितरण गर्नका लागि आवश्यक समवन्य भएपछि भैरवी गाउँपालिकाबाट कर्मचारीको टोली डुंगेश्वर पुगेका हुन्। अहिले गाउँपालिकाबाट पछि भत्ताबाट रकम असुल गर्ने गरी १ सय ६३ जना राउटेलाई माघदेखि वैशाखसम्मको ४ महिनाको रकम बुझाइएको हो। उनीहरूलाई प्रति महिना २ हजारका दरले ४ महिनाको ८ हजार रकम प्रति राउटेले बुझेको योजना तथा लेखा सहायक घनश्याम रिजालले बताए ।

यसअघि पुसमा गाउँपालिकामै राउटेलाई भत्ता वितरण गरिएको थियो । विगतमा ४ महिना र २ महिनागरी दुई पटक भत्ता वितरण गरिसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भक्तिवन सन्यासीले बताए। चार महिनापछि भत्ता वितरण हुँदा राउटेहरूमा खुसी आएको छ। आफूहरूले भत्ताबाट खसी, कुखुरा र चामल किन्ने तयारीमा रहेका मुखिया सुर्यनारायण शाहीले बताए। łहामीले ढिलै भएपनि भत्ता पाएर खुसी छौं ।

मुखिया सुर्यनारायण शाहीले भने, योसंगै असारसम्मको भत्ता पनि दिएको भए राम्रो हुने थियो। तत्कालै डुगेश्वर गाउँपालिकाबाट गुराँस गाउँपालिकाको धरमपोखरा जाने तयारीमा रहेको मुखियाँ सुर्यनारायण शाहीले बताए । जंगली खानेकुरा पाइन छाडेकाले आफूहरूलाई जंगलमा बस्न गाह्रो हुन थालेको राउटेहरुको भनाई छ। राउटेहरुले भत्ता बढाउनुपर्ने र असारसम्मको भत्ता पनि अहिले नै पाउनुपर्ने माग राखेको भैरवी गाउँपालिकाका लेखापाल राजबहादुर हमालले बताए।

भत्ता वितरण कार्यक्रममा भैरवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भक्तिवन सन्यासी, लेखापाल राजबहादुर हमाल, नायव सुब्वा विष्णु गिरी, खरिदार मधुसदन उपाध्याय, योजना तथा लेखा सहायक घनश्याम रिजाल र सहायक कम्प्यूटर अपरेटर नवराज थापा पुगेका थिए । त्यस्तै डुंगेश्वर गाउँपालिका गाउँपालिका – ६ का वडा अध्यक्ष बमबहादुर विसी र राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारी लगायत सहभागी थिए।

Next Post

पत्रकारहरुको हितमा काम गर्न सुझाव

३१ बैशाख २०७५, सोमबार ०९:४५
सुर्खेत – नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशलाई पत्रकारहरुको हितमा काम गर्न सुझाव दिइएको छ । प्रेस चौतारी नेपाल सुर्खेतले आइतवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश कार्यसमितिलाई बधाइ तथा शुभकामना ज्ञापन कार्यक्रमका सहभागीहरुले यस्तो सुझाव दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा एमाले जिल्ला कमिटि सुर्खेतका उपाध्यक्ष अमृतकुमार बिसीले पत्रकारिताविना समाजको विकास […]