काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई संविधान संशोधन प्रस्ताव रोकेर निर्वाचनमा सहभागी हुन प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ मोर्चाका नेतासँग भएको छलफलमा प्रधानमन्त्रीले संसद्मा प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव तत्काल पास हुने स्थिति नभएको भन्दै प्रस्ताव केही समय रोक्न आग्रह गरेका छन्।
संशोधन प्रस्ताव तत्काल रोकेर संशोधन पक्षधर पार्टीले अर्को एउटा सहमति गर्न पनि उनले प्रस्ताव राखेका थिए।
प्रधानमन्त्रीले छलफलमा संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुर्याउन केही समय लाग्ने बताएका थिए। त्यस बेलासम्म संशोधन पक्षधर पार्टीहरू एक ठाउँमा आई संशोधन पास गराउने पक्षमा सहमति गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्रीको छ। संशोधन प्रस्ताव पास नहुन्जेल रोक्न पनि उनले मोर्चाका नेताहरूसँग आग्रह गरे।
संशोधन पक्षधर पार्टी एक ठाउँमा आई सहमति गरेमा एमालेलाई पनि संशोधनमा आउन दबाब हुने प्रधानमन्त्रीको भनाइ थियो। केही समयपछि संशोधन प्रस्तावका पक्षमा एमाले र राप्रपा पनि आउने सम्भावना भएको उनले बताएका थिए। ‘अहिले एमाले र राप्रपा संशोधन प्रस्तावका पक्षमा नआउने भए। त्यसैलेे प्रस्ताव रोकौं, चुनावमा जाऔं’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘केही समयपछि प्रस्ताव पास हुने स्थिति छ। एमाले र राप्रपा पनि आउन सक्छन्।’
छलफलमा मोर्चाका नेताहरूले भने अहिले दलहरूबीच विश्वासको संकट उत्पन्न भएको बताएका थिए। उनीहरूले परिमार्जनसहित संशोधन प्रस्ताव पास नभएसम्म मोर्चा कुनै पनि अवस्थामा चुनावमा नजाने अडान लिएका छन्।
प्रधानमन्त्रीले भने संशोधन प्रस्ताव पास गराउन पहल भइरहेको बताउँदै सरकारले पहल गर्दागर्दै पनि तत्काल संशोधन प्रस्तावका पक्षमा दुई तिहाइ पुग्ने स्थिति नभएको बताएका थिए। नागरिक न्युजबाट