प्रधानमन्त्रीको दुईपटक हेमोडायलासिस, थप उपचार योजना निजी चिकित्सकले बनाउने

१५ कार्तिक २०७६, शुक्रबार ०७:३९

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यउपचारका क्रममा दुई दिनमा दुईपटक हेमोडायलासिस गरिएको छ। काठमाडौंको ग्रान्डी अस्पतालमा बुधबार भर्ना भएका प्रधानमन्त्री ओलीको सोही दिन डायलासिस गरिएको थियो। त्यो प्रभावकारी नभएपछि बिहीबार पुनः डायलासिस गरिएको छ। उनी बिहीबारै अस्पतालबाट डिस्चार्ज भएका छन्।

उपचारमा संलग्न ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ। ‘उहाँको स्वास्थ्य परीक्षण र उपचारका क्रममा हेमोडायलासिस गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ।

अस्पतालका तर्फबाट बिहीबार पत्रकार सम्मेलन गरी मेडिकल डाइरेक्टर पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण नियमित प्रक्रिया भएको बताए। ‘उहाँको मिर्गौला प्रत्यरोपण गरिएको कुरा सबैलाई थाहा छ। त्यसकारण डायलासिस पनि नियमित चेकजाँचभित्र पर्छ ’, पाण्डेले भने, ‘उहाँका पनि निजी कुरा हुन्छन्। बिरामीको, परिवारको अनुमति लिएर मात्रै कतिपय कुरा सार्वजनिक गर्न मिल्छ।

कन्डिसन पूर्णतया राम्रो छ। रगत परीक्षण वा अन्य जाँचमा केके कुरा आयो भन्ने सबै सार्वजनिक गर्नु राम्रो होइन। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था असामान्य भएको भए हामी त्यही जानकारी दिन्थ्यौं। अहिले राम्रो छ। आजैबाट काममा फर्कन सक्ने अवस्था छ।’ उनले आफूहरुबाट गलत सूचना नगएको पनि दाबी गरे। ‘विश्वास गर्नुस्, हामीले गलत सूचना दिएका छैनौं। उहाँलाई आइसियूको डायलासिस कक्षमा राखेर उपचार गरिएको हो,’ पाण्डेले भने। डायलासिस गर्नुपर्ने/नपर्ने प्रधानमन्त्रीकी निजी चिकित्सक नेतृत्वको टिमले निर्णय गर्ने डा. पाण्डेले बताए।

बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्रीलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो। बिहानै उच्च ज्वरो आएपछि उनलाई अस्पताल लगिएको थियो। नियमित चेकजाँचका लागि अस्पताल लगिएको भनिए पनि बुधबार पहिलो डायलासिस गरिएको थियो। पहिलो डायलासिस राम्रो नभएपछि उनलाई बिहीबार दोस्रोपटक डायलासिस गरिएको अस्पताल स्रोतले जनाएको छ।

Next Post

तरुण दलका नगर सभापतिसहित पेस्तोल बाेकेका ६ जना पक्राउ

१५ कार्तिक २०७६, शुक्रबार ०७:३९
नेपालगन्ज – इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० नमस्ते भिलेज रिसोर्टबाट बिहिबार राती ८:३० बजेको समयमा पेस्तोल सहित ६ जनालाई पक्राउ गरेको छ। नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा १८ च ४२११ को कार चेकजाच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाई राखेको मेड इन यूएस लेखेको […]