जनकपुरधाम – सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो । जिल्लाको विष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिए ।
उक्त ठाउँमा हतियारसहित मानिस रहेको सूचना आएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले मोटरसाइकलमा सवार बिष्णु गाउँपालिका ३ बस्ने २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ बर्षीय अनिश साह छन् ।
उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, अर्काे चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको कुँवरले जानकारी दिए ।


